विश्व सिमसार दिवस : सिमसार क्षेत्र जोगाउन चुनौती



दोधारा चाँदनी । आज विश्व सिमसार दिवस मनाइँदै छ । मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन ।

पछिल्लो सयम सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन । सिमसार क्षेत्र असङ्ख्य जीवजन्तु तथा वनस्पतिका लागि महत्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मी बताउँछन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले वन्यजन्तु, चराचुरुङ्गी र मानिसलाई आवश्यक पर्ने पानीको उपलब्धतामा सिमसारको महत्वपूर्ण योगदान रहेको बताए ।

‘तालतलैया, पोखरीको सांस्कृतिक महत्व छ, यो मानवीय परम्परासँग जोडिएको छ’ उनले भने, ‘कसैले माछा मार्ने, कसैले पूजा गर्नेलगायत क्रियाकलाप भइरहेका हुन्छन् ।’

सिमसारले तल्लो तटीय भूभागमा पानीको ‘रिचार्ज’ बढाउन र हावापानीको सन्तुलन मिलाउन महत्वपूर्ण भूमिका खेलेको ऐर बताउँछन् । प्राणीको जीवन पानीमा आश्रित भएको र पानीबिना जीवनको अस्तित्व नरहने भएकाले यो मान्छेको फोक्सोजस्तै भएको संरक्षण अधिकृत ऐरले बताए । उनले सिमसार क्षेत्र जोगाउन धेरै चुनौती रहेको उल्लेख गर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका ताल पुरिन लागेको बताए ।

‘निकुञ्जभित्र हामीले बेला बेला सरसफाइ गर्ने गरेका छौं, ताल पुरिने समस्या छ,’ ऐरले भने, ‘निकुञ्जभित्र रहेको रानी ताल सुकिसकेको छ ।’

पानीमा आउने जलकुम्भी सिमसार क्षेत्र ओगट्ने गरेको छ । सिमसारमा हुने घाँसको तत्वले बर्सातको पानीलाई सोस्ने काम गर्छ जसले गर्दा बाढीलाई समेत रोक्ने संरक्षणकर्मी बताउँछन् ।

प्रकृतिको अनुपम उपहार सिमसारले मानव समुदायलाई निःशुल्करुपमा वातावरणीय सेवा तथा जीवनयापनका सामग्री उपलब्ध गराइरहेको विज्ञान विषयका शिक्षक चेतन बोहरा बताउँछन् । ‘जैविक विविधता र पारिस्थितिकीय सन्तुलन कायम गर्न पनि सिमसारको महत्वपूर्ण छ यसको संरक्षणमा जोड दिनुपर्छ ‘ उनले भने, ‘सिमसार क्षेत्र जोगाउन स्थानीय सरकारले विशेष पहल गर्नु आवश्यक छ ।’ उनले यहाँका बेतकोट ताल, झिलमिला ताललगायतका सिमसार क्षेत्र पुरिन थालेको बताए ।

सिमसार क्षेत्रमा सयौँ जलीय र स्थलिय बोट बिरुवा र जनावर प्रजातिलाई आश्रय दिएको वन विज्ञान प्रतिष्ठान पोखरा क्याम्पसमा अध्ययनरत विद्यार्थी रितु जोशीले बताइन् । ‘सिमसार उभयचर र सरीसृप तथा फिरन्ते चराको प्रजननको लागि पनि उत्तिकै महत्वपूर्ण छ,’ उनले भनिन्, ‘सिमसार क्षेत्रले बाढी नियन्त्रणसमेत गर्दछ ।’

कञ्चनपुरमा रहेका सिमसार क्षेत्र पनि कतै अतिक्रम र कतै बर्सेनि पुरिँदै गएकाले यसको संरक्षणमा ध्यान दिन जरुरी छ ।


क्लिकमान्डु