एमसीसी परियोजनाका लागि तीन जिल्लामा जग्गा अधिग्रहण गरिँदै



काठमाडौं । एमसीसी परियोजना अन्तर्गतको एमसीए नेपालले (मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल) परियोजनाका लागि तीन जिल्लामा आवश्यक जग्गा अधिग्रहण कार्य अघि बढाएको छ ।

एमसीए नेपालले बुधबार सूचना प्रकाशित गर्दै नवलपरासी बर्दघाट सुस्ता पश्चिम, चितवन र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा जग्गा प्राप्तिको कार्य अघि बढाउने निर्णयबारे जानकारी दिएको हो ।

यीमध्ये नवलपरासी पश्चिमका स्थानीय तह बर्दघाट, सुनवल, रामग्राम र पाल्हिनन्दन, चितवनको इच्छाकामना गाउँपालिका र नवलपरासी पूर्वको विनयीत्रिवेणी गाउँपालिकामा जग्गा प्राप्तिका लागि कार्य अघि बढाउने निर्णय भएको हो ।

तीन वटै जिल्लामा जिल्लाका प्रमुख जिल्ला अघिकारीको अध्यक्षतामा बसेको मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिको बैठकबाट जग्गा प्राप्तिको कर्या अघि बढाउने निर्णय गरिएको हो ।

सूचनाकाअनुसार माघ ३ मा बसेको बैठकमार्फत चितवनको इच्छाकामना गाउँपालिकामा, माघ ४ मा बसेको बैठकबाट नवलपरासी पूर्वमा र माघ ५ मा बसेको बैठकबाट नवलपरासी पश्चिममा जग्गा प्राप्तीको लागि कार्य अघि बढाउने निर्णय गरिएको हो ।

प्रसारण लाइन निर्माणका लागि यी क्षेत्रमा जग्गा प्राप्ति भइरहेका हुन् । नवलपरासी पश्चिममा नयाँ बुटवलदेखि नयाँ दमौलीसम्मको क्षेत्रमा प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति हुनेछ ।

त्यस्तै, सोही जिल्लामा नेपाल–भारत सीमादेखि नयाँ बुटवलसम्म, चितवनको इच्छाकामना गाउँपालिकामा रातमाटेदेखि नयाँ दमौली र नवलपरासी पूर्वमा नयाँ बुटवलदेखि नयाँ दमौलीसम्मको प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति हुनेछ ।


क्लिकमान्डु