श्रमिकको गुनासो अब श्रमाधानमार्फत सम्बोधन हुने, ६ महिनामा एप सार्वजनिक गर्ने



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टरलाई नेपालभित्र र बाहिर रहने श्रमिकसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा र समस्या वान डोर पोलिसीबाट श्रमाधानमार्फत समाधान गर्ने भएको छ ।

मन्त्रालयले आज कार्यक्रम गर्दै ‘श्रमाधान’ सञ्चालनमा ल्याएको श्रममन्त्री डोरप्रसाद अर्यालले बताए ।

२४ घण्टे श्रम सहायता केन्द्रको रुपमा रुपान्तरण गर्ने अभियान आजैबाट शुरु गरिएको हो ।

त्यसैगरी, मन्त्रालयले दोस्रो चरणमा ६ महिनाभित्र श्रमाधान मोबाइल एप र श्रम सम्बन्धी सम्पूर्ण कार्यहरुको टाइम कार्ड लागू गर्ने जनाएको छ । उक्त एपबाट निशुल्क गुनासो गर्न सक्ने मन्त्री अर्यालको भनाइ छ ।

श्रमाधानको टाइम कार्डमार्फत्त् तोकेको समयमा सेवा तथा समस्या प्रदान गर्ने ग्यारेन्टी गर्नेछ ।

साथै, मन्त्रालयले छिटोभन्दा छिटो समस्या समाधान गर्ने उनले उल्लेख गरे ।

मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा वैदेशिक रोजगारीमा जानेहरुको लागि छुट्टै डेस्क रहेकोमा मन्त्रालयको अनुरोधपश्चात गृह मन्त्रालयमार्फत् स्वाभिमान र सम्मानलाई ख्याल गरी डोमेस्टिक डेस्कबाट नै एउटै लाइन हुनेगरी अध्यागमन चेकजाँचको प्रक्रिया थालनी गरेको छ ।

मन्त्रालयले गत आइतबारबाट विदेश जानका लागि प्रवेशद्वार एउटै बनाएको उनको भनाइ छ।

साथै मन्त्रालयले अपाङ्ग तथा अशक्त नागरिकहरुलाई सहज रुपमा सिंहदरवार प्रवेशका लागि अपाङ्गता परिचयपत्रका आधारमा प्रवेश सहजीकरणको व्यवस्था मिलाइएको उनले जानकारी दिए । त्यसैगरी रोजगार मेला गर्ने तयारी भइरहेको उनले बताए।


क्लिकमान्डु