भ्रष्टाचार सूचकांकमा नेपालल ११०औं स्थानमा



काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजकि गरेको गत वर्षको भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालको स्थान भ्रष्टाचार व्याप्त मुलुकहरुकै श्रेणीमा परेको छ ।

२०२१ को तुलनामा तुलनामा गत वर्ष (२०२२) केही सुधार भए पनि नेपालको अवस्था फेरि पनि भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमै कायम भएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सूचकांकमा २०२२ मा नेपालले ३४ अंक पाएको छ भने कुल १८० देशहरुमध्ये भ्रष्टचारको आधारमा ११० औं स्थानमा पर्न गएको छ । २०२१ मा नेपालको स्कोर ३३ र स्थान ११७ औं रहेको थियो । यो वर्ष त्यसमा केही सुधार भएको भए पनि श्रेणीमा भने नेपाल अझैं पनि भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा रहन पुगेको छ ।

सूचकांकमा १ सय अंकले भ्रष्टाचार नहुने अति स्वच्छ देश भएको र ० अंकले अति भ्रष्ट देश भएको जनाउँछ । ५० भन्दा कम अंक प्राप्त गर्ने देशलाई भ्रष्टाचार बढी हुने देशको रुपमा मानिन्छ । नेपालले सूचकांकमा ३४ अंक मात्रै पाएकाले अझैं पनि नेपाल भ्रष्टाचार व्याप्त मुलुकको रुपमा रहेको छ ।

२०२२ मा एसियाका अन्य देशहरुमा भुटानले ६८ अंक (२५ औं स्थान), मालदिभ्सले ४० अंक (७५ औं स्थान), भारतले ४० अंक (८५ औं स्थान), पाकिस्तानले २७ अंक (१४० औं स्थान), बंगलादेशले २५ अंक (१४७ स्थान), अफगानिस्तानले २४ अंक (१५० औं स्थान र चीनले ४५ अंक (६५ औं स्थान) पाएका छन् ।


क्लिकमान्डु