साथीभाई र छोरीले बिहे गर्न सुझाएपछि बाँकी जीवन सरितासँग बिताउने निर्णयमा पुगेँः रामेश्वर खनाल
काठमाडौं ।अर्थशास्त्री एवं पूर्वसचिव रामेश्वर खनालले वैवाहिक जीवन शुरु गरेका छन् । खनालले सरिता शर्मा पोखरेलसँग बिहीबारबाट नयाँ दाम्पत्य जीवन सुरु गरेका हुन्।
उनको यो दोस्रो विवाह हो । २०७६ मा श्रीमती सुचित्रा खानलको क्यान्सरका कारण निधन भएपछि खनाल एकल जीवन विताइरहेका थिए भने पोखरेल १९ वर्षदेखि एकल जीवन विताइरहेकी थिइन् ।
परिवार र साथी भाइहरुको प्रस्तावलाई स्वीकार गर्दै सहयात्राको निर्णयमा पुगेको खनालले बताए ।
२ वर्ष यताको चिनजानलाई सहयात्रामा परिणत गरेको उनले बताए । तर, वैधिकरुपमा विवाह कार्यक्रम भने नभएको उनले जानकारी दिए।
एकांकी जीन्दगीका कारण विभिन्न समस्याहरुका साथै मानसिक समस्या पनि देखिन सकिने जोखिम भएकाले आफू विवाहको लागि तयार भएको उनले बताए ।
‘पारम्परिकरुपमा होइन, बाँकी जीवनसँगै विताउने प्रण गरेका हौ’ खनालले भने, ‘मलाई मेरी छोरीले समेत बिबाह गर्न सुझाएपछि म यो निर्णयमा पुगेको हुँ ।’
खनाल र शर्मा दुवैका एक-एक छोरी छन् । खनालकी नयाँ पत्नि सरिता ४७ वर्षकी भइन् । खनाल ६४ वर्षका भए ।