उद्योगमन्त्री भण्डारीको प्रतिबद्धताः देशमा लगानीमैत्री वातावरण बनाउन आएको हुँ



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समस्याको गीत गाउन नभई अर्थतन्त्र सुधारका लागि उद्योगीहरुलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने कार्यमा आफू लागिपर्ने बताएका छन् । शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पोको उद्घाटन गर्दै उनले देशमा लगानी गर्ने वातावरण बनाउनमा आफू प्रतिबद्ध रहने बताएका हुन् ।

मन्त्री भण्डारीले नेपालको उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याका कारण धेरै भएपनि आगामी दिनमा समस्याको सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले सरकारको प्राथमिकता समस्या समाधानको सम्भावना खोजि गर्ने र नीतिगत कुरामा सुधार गर्ने रहेको बताए । उनले सरकार लगानी कर्तालाई सहज रुपमा लगानी गर्ने वातावरण सिर्जना गर्न र बैंकसँगको कारोबार सहज बनाउनेकुरामा गम्भीरतापूर्वक नीति र साझा कार्यक्रमलाई नै मध्यभागमा राखेर अघि बढीरहेको बताए ।

‘नेपालको उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याको कारण धेरै होलान । विगतमा भूकम्प तथा कोरोना महामारी लगायत अन्य कारणले नेपालको अर्थतन्त्र अहिले जुन अवस्थामा पुग्यो’, मन्त्री भण्डारीले भने, ‘व्यापार घाटा जसरी चुलियो । नेपालको जनशक्ति जसरी बाहिरियो । यसमा समस्याको गीत गाएर होइन । समस्या समाधानको सम्भावनालाई पनि खोज्छौं । सरकारको प्राथमिकतामा नीतिगत कुरामा हो ।’

सँगै, उद्योगी, व्यापारीहरुले उद्योगधन्दा सञ्चालन गर्नु नै गलत हो की भन्ने पीडाबोध गरिरहेको भन्दै उद्योग चलाएबापत सरकारलाई ट्याक्स तिरेँ र केही मानिसलाई रोजगारी दिएँ भन्ने खालको गर्व महशुस गर्ने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकतामा रहेको मन्त्री भण्डारीले बताए । उनले सरकारले रुग्ण उद्योगको सञ्चालन गर्न र विगतमा चल्न नसकेर बन्द भएका उद्योगहरु सञ्चालन गर्नका लागि आगामी दिनमा अघि बढाउने प्रतिवद्धता जनाए ।

‘नीतिमा कहाँ हो समस्या ?’, उनले भने, ‘ लगानी कर्तालाई सहज रुपमा लगानी गर्ने वातावरण वा बैंकसँगको कारोबार सुलव बनाउनेकुरामा सरकार गम्भीरतापूर्वक नीति र साझा कार्यक्रमलाई नै मध्यभागमा राखेर उद्योगी, व्यापारीहरु उद्योगधन्दा सञ्चालन गर्नु नै गलत हो की भन्ने पीडाबोध भएको छ, मैले उद्योग चलाएबापत सरकारलाई ट्याक्स तिरेँ र केही मानिसलाई रोजगारी दिएँ भन्ने खालको गर्व महशुस गर्ने वातावरण सिर्जना गर्नेछु । निजी क्षेत्रले राखेका केही मागहरु मसँग, मन्त्रालयसँग आएको छ ।

सँगै उनले सरकारले उद्योग नचलाउने भएतापनि सरकारले उद्योगीहरुलाई प्रोत्साहित गर्ने बताए । नीतिगत र कानून फुकाएर उद्योग सञ्चालनका लागि सहज अवस्था सिर्जना गर्ने उनको जिकिर थियो ।

‘उद्योग मन्त्रालयको मातहतमा रहेका जग्गाहरुलाई हामी निर्यात गर्ने वस्तुहरुको लागि कहीँ जग्गा खोजिरहेका छौँ’, उनले भने, ‘चाँडै हामी त्यो कुराको कमी नहुने गरी सरकारले निर्णय गर्नेछ । समस्याका गीत गाएर होइन, समाधानका सम्भावनाहरुका नजिकमा गर्नुपर्ने दायित्व बोध छ ।’


क्लिकमान्डु