रूग्ण उद्योगहरूको सञ्चालनमा विशेष ध्यान दिई देशभित्रै रोजगारी सिर्जना: उद्योगमन्त्री भण्डारी



काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालयमा पदभार ग्रहण गर्दै रूग्ण उद्योगहरूको सञ्चालनमा विशेष ध्यान दिई देशभित्रै रोजगारी सिर्जना गर्ने बताएका छन् ।

मंगलबार पदबहाली गरेका मन्त्री भण्डारीले बढ्दो व्यापार घाटा न्यूनीकरण, पेट्रोलियम पदार्थको सहज आपूर्ति र खाद्यान्न आपूर्तिको सहजताको लागि मन्त्रालयका सबै अङ्ग तथा साधन स्रोतको परिचालन गर्ने बताएका छन् ।

‘कोही भोकै नपरोस, भोकले कोही नमरोस्,’ भन्ने नीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने पनि उनको भनाइ छ ।

त्यसैगरी, निर्यात प्रवर्द्धन तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिनुपर्ने र मन्त्रालयका सामु रहेका समस्याहरूको गीत गाउनुभन्दा समाधानको ढोका खोल्न जरूरी रहेको उनले जिकिर गरे ।

उद्योगमन्त्री भण्डारीले धेरै प्रश्न उठ्ने आपूर्ति व्यवस्थापनलाई सहज बनाउनुपर्ने र उपलब्ध स्रोत र संभावनालाई उजागर गर्दै सरकारको २१ बुँदे साझा कार्यक्रमलाई सफल पार्न सबै पक्ष प्रतिवद्ध रहन निर्देशन दिएका छन् ।

साथै, व्यक्तिगत समय नभनी मन्त्रालयको काममा खटिइ सम्पूर्ण राष्ट्रसेवक कर्मचारीले समेत आत्म गौरव प्राप्त हुने गरी आफ्नो कार्य विवरण अनुसार दत्तचित्त भई जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।


क्लिकमान्डु