एसबिआई बैंकले कर्मचारीका लागि खर्च गर्यो १ अर्ब ८२ करोड, सञ्चालकले कति लिए ?



काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षमा बैंकका सहायक महाप्रबन्धक तहका पदाधिकारी तथा कम्पनी सचिवलाई १ करोड ९५ लाख ६३ हजार २८५ रुपैयाँ पारश्रमिक भुक्तानी गरेको छ ।

बैंकले कर्मचारी (बोनस सहित) खर्च १ अर्ब ८२ करोड ८० लाख ५४ हजार ४९६ रुपैयाँ गरेको छ ।

बैंकका अनुसार गत आवमा सञ्चालक समितिका सदस्य, समितिका उप समितिहरुको बैठक भत्ता बापत ६ लाख ४० हजार खर्च भएको छ । अध्यक्षले प्रति बैठक भत्ता बापत १२ हजार ५०० र अन्य सञ्चालकले १० हजार भुक्तानी लिने गरेका छन् ।

बैठक भत्ता अन्तर्गत भुक्तान गरिएको रकममा जोखिम व्यवस्थापन समितिको बैठक बापत ८० हजार, लेखापरीक्षण समितिको बैठक बापत ६० हजार र कर्मचारी सेवा सुविधा समितिको बैठक बापत ७० हजार रुपैयाँ खर्च भएको छ ।

बैंकका अनुसार भारतीय स्टेट बैंकबाट प्रतिनिधित्व गर्ने अध्यक्ष तथा सञ्चालकलाई बैठक भत्ता दिइएको छैन । एसबिआईले पठाएका व्यवस्थापन समूहका पदाधिकारीहरुले भने तलब तथा भत्ता प्राविधिक सेवा सम्झौता बमोजिम भारतीय स्टेट बैंकले नै भुक्तानी गरेको जनाइएको छ ।


क्लिकमान्डु