सीमाभन्दा बढी लिएको कर्जा ५ किस्तामा तिर्न मिल्ने राष्ट्र बैंकको व्यवस्था, कुनमा कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ को पहिलो संशोधन गर्दै सीमाभन्दा बढी लिएको कर्जा ५ किस्तामा तिर्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ (प्रथम संशोधनसहित)’ जारी गर्दै २०८० असार मसान्तसम्म १० प्रतिशत, २०८० पुस मसान्तसम्म २० प्रतिशत, २०८१ असार मसान्तसम्म २० प्रतिशत, २०८१ पुस मसान्तसम्म २० प्रतिशत र २०८२ असार मसान्तसम्म ३० प्रतिशत तिर्नुपर्ने व्यवस्था गरेको छ ।

कात्तिक १ गतेभन्दा अगाडि प्रवाह भएका चालु पुँजी कर्जाहरुलाई यो मार्गदर्शन अनुसार पहिलो पटक पुनरावलोकन वा नवीकरण गर्नुपर्दा मार्गदर्शनले तोकेको सीमाभन्दा बढी कर्जा प्रवाह भएमा त्यस्तो रकमलाई २०८२ असार मसान्तसम्म अर्धवार्षिक रुपमा भुक्तानी हुने गरी आवधिक कर्जा शीर्षकमा मिलान गर्नुपर्नेछ ।

यस्तो कर्जाको अवधि, भुक्तानी तालिका, तथा किस्ता रकम परिवर्तन गर्न पाइने छैन । साथै, यस्तो आवधिक कर्जा समयअगावै चुक्ता गर्न चाहेमा बैंक तथा वित्तीय संस्थाले अग्रिम भुक्तानी शुल्क लिन पाउने छैनन् । २०८० असोज मसान्तसम्म नेपाल राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नुपर्नेछ ।


क्लिकमान्डु