विराट सडक महोत्सव माघ १२ देखि तीन दिनसम्म



विराटनगर । विराटनगरमा आगामी माघ १२ देखि विराट सडक महोत्सव सुरु हुने भएको छ । विराट सडक महोत्सव माघ १२ देखि १४ गते तीन दिनसम्म हुने भएको हो ।

महोत्सवमा विभिन्न जातजातिका खानाका परिकारको स्वाद चाख्न पाइने र स्थानीय र राष्ट्रियस्तरका कलाकारहरुबाट साँस्कृतिक कार्यक्रमको प्रस्तुति हुने बताइएको छ ।

विराटनगरमा दोस्रो पटक आयोजना हुन लागेको महोत्सवमा ४० वटा स्टलहरु रहने महोत्सव आयोजक संस्था मञ्जिना मुभिज क्रिएशनका जतिन ताम्रकारले बताए ।

विराटनगरको ऐतिहासिकता र साँस्कृतिक सभ्यतालाई जीवन्त बनाउन नयाँ पुस्तालाई अझ सक्रिय र जिम्मेवारी बोध गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले जानकारी दिए ।

विराटनगरको हिमालय रोडमा महोत्सव हुने जनाइएको छ । जहाँ नमुना सडक बनाउने भनेर महानगरपालिकाले विभिन्न संरचना बनारहेको छ । जुन ठाउँ विवादित पनि हो । महोत्सवका लागि ३१ लाख रुपैयाँ बराबरको खर्च हुने महोत्सव आयोजक संस्था मञ्जिना मुभिज क्रिएशनका ताम्रकारले बताए ।

विराटनगर महानगरपालिका तथा अन्य निकायहरुसँगको सहकार्य र सहयोगमा महोत्सव सम्पन्न हुने आयोजक संस्थाले जानकारी दिएको छ ।

महोत्सवले नगरवासीहरूलाई मनोरञ्जन दिनुका साथै भिन्नभिन्न प्रकारका परिकारहरू खाएर आनन्द तथा सन्तुष्टि लिन सक्ने बताइएको छ ।

महोत्सवमा नेवारी, भोजपुरी, थारुलगायतका परिकारको स्वाद लिन पाइने भएको छ । त्यस्तै महोत्सवमा हुने सांस्कृति कार्यक्रमबाट मैथिली, भोजपुरीलगायत विभिन्न भाषाभाषी र संस्कृतिका गीत संगीतको प्रस्तुतीले भरपुर मनोञ्जन दिने बताइएको छ ।


क्लिकमान्डु