व्यवसाय सञ्चालनमा समस्या आएको भन्दै मोबाइल व्यवसायीद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण



काठमाडौं । बैंक तथा वित्तिय संस्थामा देखिएका जटिलताले मोबाइल व्यवसाय सञ्चालन गर्न समस्या भएको भन्दै मोबाइल व्यवसायीले अर्थमन्त्री विष्णु पौडेलको ध्यानाकर्षण गराएका छन् ।

आज अर्थमन्त्रीलाई भेटेर व्यवसायीहरुले व्यवसाय धरापमा पर्दा यसमा आश्रितहरुको जीवनयापन कष्ठकर बन्दै गएको समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका हुन् ।

‘वार्षिक ४० अर्बभन्दा बढी राजस्व उठाउने ठूलो स्रोत मानिएको मोबाइल व्यवसायी बैंकिङ क्षेत्रमा देखिएका जटिलताले व्यवसायी कर्मचारी र यसमा आश्रितहरुको जीवनयापन कष्ठकर बन्दै गएकोछ,’ अर्थमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

व्यवसायीहरुलाई उचित नियम बनाई सहुलियत दरमा र सहज ऋण प्रवा गरिदिने अवस्थामा भएमात्रै यो व्यवसाय अगाडि बढि अझ सशक्त भई अर्थतन्त्रमा टेवा पुर्याउने क्षेत्रको रुपमा स्थापित हुन सक्ने उनीहरुको भनाइ छ ।

देशभर २५ हजारभन्दा माथि स्वरोजगार मोबाइल व्यवसायीहरुलाई संगठित गर्दै छाता संस्थाको रुपमा निरन्तर क्रियाशिल महासंघमा ५० हजारभन्दा बढी स्वरोजगार छन् भने ५ लाखभन्दा बढी परिवार आश्रित छन् । त्यस्तै, नेपालको अर्थतन्धको कर बुझाउने सुचाङ्कमा दोस्रो स्थानमा रहेको महासंघको दाबी छ ।

त्यसैगरी, महासंघले घर बहाल लिने र दिने मापदण्ड प्रभावकारी नहुँदा अकासिएको घर बहाल र करको स्पष्ट नीति नभएको जस्ता कारणले व्यापारी वर्गमा ठूलो समस्या देखिएको जनाएको छ ।

‘नेपालमा आयात गरिएको एशोसोरिज उत्पादन गर्ने उद्योगहरुको सञ्चालन गर्न सकिने आधारहरु भएपनि उचित कानूनी प्रावधान नभएकाले उचित कानूनी व्यवस्था, उपयुक्त अर्थनीति र वातावरण सिर्जना भएमा आयात प्रतस्थापन हुनेछ,’ महासंघले ध्यानाकर्षणपत्रमा भनेको छ ।

त्यस्तै, यो क्षेत्रमा हजारौं प्रभाविधिकका लागि रोजगारीको अवसर भएपनि उपयुक्त तालिमको अवसर प्राप्त नसक्दा रोजगारीसमेत गुमाइरहेको महासंघको भनाइ छ ।


क्लिकमान्डु