रवि लामिछानेलाई शथप नगराउन माग गर्दै संसद् सचिवालयमा निवेदन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको शपथ रोक्न माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता भएको छ । नागरिकता सम्बन्धी विवाद निरूपण भई नसकेको भन्दै प्रतिनिधिसभा सदस्यका रूपमा उनको शपथ रोक्न माग गरिएको हो।

समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले बिहीबार लामिछानेलाई प्रतिनिधिसभा सदस्य पदको शपथ नगराउन मागसहित निवेदन दिएका हुन् ।

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निवेदक सफलले लामिछाने उम्मेदवार बन्दा नै निजले अमेरिकी नागरिकता त्यागेको तर नेपाली नागरिकता पुनर्प्राप्ति नगरी पुरानै नागरिकता पेस गरी उम्मेदवार बनेको भन्दै निर्वाचन आयोगमा नवराज पाण्डे लगायतले उजुरी दर्ता गरेकोमा आयोगले सो उपर कुनै छानबिन नगरी निर्वाचन लड्न दिएको जिकिर गरेका छन् ।

गृह मन्त्रालयमा रवि लामिछानेले पुरानो नागरिकता पुनर्प्राप्ति नगरी प्रयोग गरेको, अमेरिकी नागरिक कायम भएकै बखत झुटो विवरण पेस गरी नेपाली राहदानी लिएको लगायत विषय समेटी उजुरी दर्ता गरी नेपाल प्रहरीले फौजदारी कसुर अन्तर्गत अनुसन्धान गरिरहेको अवस्था रहेको पनि उनले निवेदनमा उल्लेख गरेका छन् ।

‘निर्वाचन आयोगमा समेत म युवराज सफलले निजको पार्टी सदस्य र पार्टी सभापति पद समेत खारेज गर्न प्रमाण सहित उजुरी दर्ता गरेको छु,’ निवेदनमा उनले भनेका छन्, ‘यस्तै सर्वोच्च अदालतमा मिति २०७९ मंसिर २८ गते निजको सांसद पद, पार्टीको सभापति पद समेत खारेज गर्न माग गरी म युवराज पौडेल सफलले एकल र अधिवक्ताद्वय रविराज बसौला र नानीबाबु खत्रीले संयुक्त रूपमा रिट निवेदन दर्ता गरी मिति २०७९ पौष ०६ गतेका दिन प्रारम्भिक सुनुवाइ भई दुवै पक्षलाई छलफलमा झिकाइने आदेश समेत भइसकेकोले निज रवि लामिछानेलाई शपथ नगर्न नगराउन प्रतिनिधिसभा नेपालका ज्येष्ठ सदस्य सम्माननीय पशुपति शमशेर र संसद महासचिव श्रीमान् भरतराज गौतमज्यू समक्ष यो निवेदन पेस गर्दछु ।’

नयाँबानेश्वर स्थित संसद् भवनमा आज दिउँसो १ बजे सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । राणालाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी थिइन् ।


क्लिकमान्डु