आलोपालो प्रधानमन्त्री र राष्ट्रपतिबारे बन्दकोठामा सहमति भए कांग्रेसले बोक्दैन: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू सरकारमा सहभागी नहुने बताएका छन् ।

बुधबार संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री थापाले आफू संसदीय दलको नेता बन्नेमा केन्द्रीत हुने बताए ।

उनले आफूले पार्टी महामन्त्री र सांसदको रुपमा काम गर्ने स्पष्ट पारे ।
‘म संसदीय दलको नेतामा प्रतिष्पर्धा गरेपछि पनि संसदीय दलको नेता हुनका लागि प्रयास गरिरहन्छु । त्यसकारण मेरो प्रयास त्यसकै लागि रहन्छ । सरकारका अरु साथीहरु जानुहुन्छ । म महामन्त्री छु । महामन्त्रीको रुपमा म काम गर्छु । नेपाली काँग्रेसको सांसद हुँ । सांसदको रुपमा काम गर्छु ‘ उनले भने ।

पार्टी संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने आफ्नो एजेण्डा रहेको र त्यसमा प्रयास जारी राख्ने उनले बताए ।
संसदीय दलको निर्वाचनको परिणाम अपेक्षाकृत नरहेको उल्लेख गर्दै त्यसबाट आफू निराश नहुने उनले बताए ।
‘मेरा लागि यो अपेक्षाकृत परिणाम होइन । मैले योभन्दा धेरै राम्रो हुन्छ भनेर सोचेको थिएँ । तर यसबाट म थाक्दा पनि थाक्दिन । म निराश पनि हुन्न । अरु थप मेहनत गर्छु । अरु थप लाग्छु । किनभने नेपाली का|ग्रेस संसदीय दलको नेता बदलिनु पर्छ भन्ने मेरो एजेण्डा छ’ थापाले भने ।

महामन्त्री थापाले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने बाटो खुला भएको बताए । सरकारको आलापालोको कुरा र राष्ट्रपतिलगायतका पदहरुको बाँडफाँटको विषयमा पार्टी र संसदीय दलभित्र खुला छलफलका साथ निर्णय नभए आफूहरुलाई मान्य नहुने उनले स्पष्ट पारे ।

‘कांग्रेसले गर्ने कुनै पनि निर्णयहरु चाहे त्यो सरकारको आलोपालो होस्, चाहे त्यो राष्ट्रपतिको सन्दर्भमा होस् । ती कुनै पनि कुराहरु पारदर्शी भएनन् भने सम्बन्धित समितिभित्र छलफल भएनन् भने ती निर्णयहरु व्यक्तिगत निर्णयको रुपमा दर्ज हुन्छ । त्यो कुरा म अहिले नै भनिराख्छु’ थापाले भने, ‘ नेपाली कांग्रेसले कुनै पनि अर्को पार्टीसँग सरकार चलाउने विषयको सन्दर्भमा आलापालो गर्ने भनेर कुनै पनि खालको समझदारी यदि गर्छ भने त्यो पार्टीसँग संस्थागत भएको छ भने नेपाली कांग्रेस पार्टीले त्यसलाई बोक्छ । तर होइन यो भन्दा अगाडिको समयमा जस्तै अध्यारो कोठामा आलोपालोको कुरा नेताहरु बसेर गर्नुहुन्छ भने त्यसलाई नेपाली काँग्रेसले बोक्दैन । र, भोलि नेपाली कांग्रेसले धोका दियो भनेर बोल्न पाउनुहुन्न कसैल पनि । संसदीय दलको नेताले नै निर्णय गर्ने हो । तर संसदीय दलको नेताले दलको बैठकमा प्रस्ताव गर्नु हुन्छ । हाम्रो संसदीय दल भित्र छलफल हुन्छ । पार्टीको सम्बन्धित कमिटी भित्र छलफल हुन्छ ।’

महामन्त्री थापाले नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि आजैबाट पहल गर्नुपर्ने धारणा राखे ।


क्लिकमान्डु