कांग्रेस संसदीय दलमा देउवा निर्वाचित, गगनले २५ मत पाए



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन्।

बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवा ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले देउवाले ६४ मत पाएको बताए । देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका महामन्त्री गगन थापाले २५ मत पाए । कांग्रेस संसदीय दलमा ८९ जना सांसदले मतदान गरेका थिए।

कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने विधान छ ।

कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।

प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणामपश्चात राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी नयाँ सरकार गठनका लागि आह्वान भएसँगै संसद्को सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल शुरु गरिसकेको छ ।


क्लिकमान्डु