शेखरको प्रस्तावमा गगन थापा संसदीय दलको उम्मेदवार बन्ने, संस्थापनबाट देउवा



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसको संस्थापनइत पक्षबाट महामन्त्री गगन थापा उम्मेदवार हुने भएका छन् ।

मंगलबार लौनचौरस्थित एम्बास्डर होटलमा शेखर कोइराला पक्षको कोइरालाको प्रस्तावमा महामन्त्री थापा संसदीय दलका नेतामा उठ्ने समझदारी बनेको हो । गत महाधिवेशनमा थापा शेखर पक्षबाट उम्मेदवार बनेर विजयी भएका थिए ।

उक्त समूहबाट कोइरालासहित थापा संसदीय दलको नेताको उम्मेदवार बन्न खोजेपछि लगातार छलफल भइरहेको थियो ।
थापाले निर्वाचनमा जाँदै आफू प्रधानमन्त्रीका बन्नका लागि संसदीय दलमा उम्मेदवार बन्ने बाचा गरेका थिए । तर कोइरालाले पनि इच्छा राखेपछि नेताहरु छलफलमा जुटेका थिए ।

संस्थापन समूहबाट भने सभापति शेरबहादुर देउवा संसदीय दल नेताका लागि उम्मेदवार हुने निश्चित छ ।

निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्नु पर्ने छ । मनोनयन दर्ताका लागि कांग्रेसले ५१ हजार शुल्क तोकेको छ ।

प्रतिनिधि सभामा कांग्रेसका ८९ सांसद छन् । निर्वाचन कार्यतालिका अनुसार नेता चयनका लागि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुने छ ।


क्लिकमान्डु