माघे सङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न चटारो, गत वर्षभन्दा दुई गुणा बढी महँगो



फाइल तस्बिर

सर्लाही । सर्लाहीका विभिन्न क्षेत्रका किसानलाई माघे सङ्क्रान्ति नजिकिएसँगै तरुल खन्ने चटारो बढेको छ ।

जिल्लाको शङ्करपुर, राजघाट, हजरिया, बरहथवा, जिरायत, कर्मैया हजरियालगायतका क्षेत्रमा व्यावसायिकरूपमा तरुल खेती हुने गरेको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै उनीहरुलाई चटारो बढेको हो । ती क्षेत्रका किसानले तरुल बिक्रीबाट बर्सेनि मनग्य आम्दानी गर्दै आएका छन् ।

बागमती नगरपालिका–५ राजघाट टेकानीका जगतबहादुर खुलाल मगरले यस वर्ष करिब एक बिघा क्षेत्रफलमा तरुल खेती लगाएका छन् ।

उनले गत वर्ष करिब तीन लाख ५० हजार रुपैयाँको तरुल बिक्री गरेका थिए । अन्य खेतीका तुलनामा तरुल खेतीमा मेहेनत र खर्च कम फाइदा बढी हुने भएकाले १५ वर्षदेखि खेती गर्दै आएको उनले सुनाए ।

यस वर्ष खेतबाटै व्यापारीले प्रतिकिलो एक सय १० रुपैयाँ मा तरुल खरिद गरेको बागमती–६ का किसान यमकुमार मगरले बताए । उनकाअनुसार तरुल लिन व्यापारी किसानका खेतमै पुगेका छन् । लामो समयदेखि तरुल खेती गर्दै आएका यामकुमारले यस वर्ष करिब १६ कट्ठा जमिनमा तरुल खेती गरेका छन् ।

व्यापारीलाई प्रतिकिलो एक सय १० रुपैयाँका दरले खेतैमा र काठमाडौँ पुर्‍याएर प्रतिकिलो दुई सय २० रुपैयाँमा तरुल बचेका छन् । खर्च कटाएर कट्ठाको करिब एक लाख आम्दानी भएको उनले बताए । तरुल खेतीबाट भएको आम्दानीले छोराछोरी पढाउने र घरव्यवहार चलाउन पुगेको उनको भनाइ छ ।

यहाँको तरुल स्वादिलो हुने भएकाले काठमाडौँलगायत देशका मुख्य ठूला सहरबाट अत्यधिक माग आइरहेको बागमती–८ का व्यापारी नुनुबाबु पण्डितले जानकारी दिए ।

यस क्षेत्रका किसानले पताले, झुसे, जाँते र रातो तरुल धेरै मात्रामा लगाउने गरेका छन् । तरुल खेती गर्न बलौटे तथा दोमट माटो उपयुक्त हुने किसानको भनाइ छ । बीउ, खनजोत, मलखाद र गोडमेलसमेत गरेर प्रतिकट्ठा करिब छ हजार रुपैयाँ लगानी हुने अर्का किसान रामबहादुर मगरले बताए ।

उनका अनुसार राम्रो उत्पादन हुँदा तरुल प्रतिकट्ठा करिब आठ क्विन्टलसम्म उत्पादन हुने गरेको छ । जिल्लामा मात्र यस वर्ष करिब तीन सय हेक्टर क्षेत्रफलमा तरुल खेती भएको कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख कमलदेवप्रसाद कुशवाहले बताए ।

उनकाअनुसार समय तथा मेहेनत पनि कम लाग्ने र सिँचाइ नभए पनि तरुल खेती राम्रो हुने भएकाले जिल्लाका किसान तरुल खेतीतर्फ बढी आकर्षित हुने गरेका छन् ।

यस्तो छ तरुलको मूल्य

जिल्लाका किसानले तरुलको राम्रो मूल्य पाएका छन् । राम्रो मूल्य पाएपछि तरुल किसान पनि दङ्ग परेका छन् । विगत वर्षको भन्दा तरुलले दुई गुणा बढी मूल्य पाएपछि यसपटक आम्दानी पनि मनग्य हुनेमा यस क्षेत्रका तरुल किसान ढुक्क छन् ।

जिल्लाको बागमती नगरपालिकास्थित राजघाटका तरुल किसान बलराम उप्रेती तरुलको मूल्य राम्रो पाएको जानकारी दिए । यसपटक माघे सङ्क्रान्ति नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा उत्पादन भएको तरुल प्रतिकिलो एक सयदेखि एक सय ६० रुपैयाँसम्म खेतैमा पाएको अर्का तरुल उत्पादक किसान राजलाल महतोले बताए ।

“पोहोर साल त ६०–७० रुपैयाँ प्रतिकिलो थियो”, उनले भने, “यसपटक राम्रो भाउ पाएका छौँ । राम्रै फाइदा हुन्छ होला ।” सङ्क्रान्तिको लागि भन्दै तरुल खरिद गर्न किसानका बारी–बारीमै व्यापारी पुग्ने गरेका छन् ।

यहाँ उत्पादन भएको तरुल ठेकेदारले किसानसँग खरिद गरेर देशका मुख्य बजार हेटौँडा, लहान, काठमाडौँ, विराटनगर र धनगढीसम्म पु¥याउने गरेका छन् ।

ठेकेदारले खेतमै खनेर लैजाने गरी तरुल ठेक्का लिएका राजघाटका तरुल उत्पादक किसान विनोद दासले बताए । उनका अनुसार किसान आफैँले स्थानीय बजारमा समेत तरुल बिक्रीका लागि लैजाने गरेका छन् ।

“लगानी थोरै र स्याहार पनि थोरै गर्नुपर्ने भएकाले तरुलको यसपटकको मूल्यले किसानलाई फाइदा छ”, रामकुमार मैनालीले भने“अन्य बालीलाई जस्तो स्याहार मल गर्नुपर्दैन । मकै वा बेसारभित्र लगाउँदा पनि हुने ।”

एउटै बारीमा दुईथरि खेती गर्न पाइने भएकाले पनि किसान तरुलतर्फ आकर्षित हुँदै आएको स्थानीयवासीको भनाइ छ । तरुल बिक्री वितरणमा अहिलेसम्म किसानले दुःख पाउनु नपरेकामा समेत किसान खुसी छन् ।

माघे सङ्क्रान्तिमा विशेष फलारका रूपमा प्रयोग गरिने तरुल अन्य समयमा तरकारीका रूपमा समेत बिक्री हुने गर्दछ । यसको खेती गर्दा जमिन हेरेर बीउ, खनजोत, खादमल र गोडमेलसमेत गरे राम्रो आम्दानी हुने किसानको भनाइ छ ।


क्लिकमान्डु