राजनीतिक पृष्ठभूमि बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न सकिँदैन: देव गुरुङ



काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन् ।

मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने महासचिव गुरुङको भनाइ छ ।

संवाद डबलीले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले यो व्यवस्था र प्रणाली रहुन्जेल मुलुकको नेतृत्व गर्ने कुरा राजनीतिक दलहरुको नेतृत्वले नै गर्नुको विकल्प नरहेको स्पष्ट पारे ।

राजनीतिक दलहरुभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा आफ्नो दल र सत्तारुढ पाँचदल भित्र कहीँकतै पनि कुरा नउठेको उनको दाबी छ ।
‘संस्थागत रुपमा मैले यस्तो कुनै जानकारी पाएको छैन । पार्टीमा पनि कुरा उठेको छैन । पाँच दलीय गठबन्धनमा पनि सो कुरा कतैबाट उठेको छैन । तर पनि हिजोबाट कतिपय मिडियाहरुमार्फत् यो कुरा सुनिराखिएको छ, आइराखेको छ । अव सुनेकै कुरा ठिक हो भने यो सोच, यो भिजन अहिलेको सिष्टम अनुकूलको भिजन होइन, दृष्टिकोण होइन’ उनले भने ।

महासचिव गुरुङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा अहिलेको राजनीतिक प्रणाली अनुकूलको दृष्टिकोण नभएकाले मान्य नहुने बताए ।

महासचिव गुरुङले यो व्यवस्थाको प्रस्तावक रहेको भन्दै अब बन्ने सरकारको नेतृत्वमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको दाबी रहेको बताए । तर संसदमा कुनै पनि दलको बहुमत नभएकाले दलहरुबीचको सम्झौताबाट नै सरकारको नेतृत्व चयन हुने अवस्था मुलुकमा रहेको उनको भनाइ छ ।

माओवादी विचारले मुलुकलाई नेतृत्व गरेको र त्यसको नेता हुनुको नाताले पार्टी अध्यक्ष दाहालको नेतृत्वमा सरकार हुनु स्वभाविक हुने गुरुङको तर्क छ ।

‘गिरिजाप्रसाद कोइराला अहिले हुनुहुन्न । एउटा सिंगो प्रचण्ड मात्रै बाँकि रहनु भएको छ । त्यसकारणले यो संकट पर्दाखेरी स्टेटम्यानसिप लिएका पात्रहरु अगाडि बढने कि नबढने भन्ने प्रश्न छ’ उनले भने, ‘ चुनौतिलाई फेस गर्नका लागि सायद माओवादी विचार, माओवादी चिन्तन, माओवादी दृष्टिकोण, त्यही आधारमा लिडरसिपको हिसावले पनि अगाडि बढनुपर्छ भन्ने मान्यता हो । तर संसदको अवस्था हेर्दाखेरी दलहरुबीच सम्झौंताको बाटो खोज्छ ।’


क्लिकमान्डु