उद्योगी राठी बन्धक घटनाका आरोपिलाई पक्राउ गर्न माग



विराटनगर । विराटनगरका उद्योगी अरुणकुमार राठीलाई अपहरण गरेर बन्धक बनाइ रकम असुल्ने आरोपितलाई पक्राउ गर्न माग गरिएको छ ।

नेकपा(एमाले) निकट नौवटा भ्रातृ संस्थाका प्रतिनिधिहरूले बुधबार सो माग गरेका हुन् ।

संस्थाका ती प्रतिनिधिहरूले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै त्यस्तो माग गरेका हुन् । उनीहरुले नेपाल टाइम्सका सञ्चालक शहेन साह भनिने अब्दुल खताबलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

राष्ट्रिय उद्योग व्यवसायी महासंघ, भूमि अधिकार तथा श्रमिक संगठन, नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन, नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, युवा संघ नेपाल, अनेरास्ववियु, नेपाल खेलकुद महासंघ र अखिल रिटर्नी फेडेरेशन नेपालले खताबलाई कारबाही गर्न माग गरेका हुन् ।

बन्धक बनाइ मुक्त गरिएका भनिएका राठी हालै सम्पन्न निर्वाचनमा प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का तर्फका समानुपातिक उम्मेदवार थिए । उनी राठी ग्रुपका निर्देशक पनि हुन् ।

राठीलाई गत मङ्सिर १४ गते घरबाटै बोलाएर मिडियाको कार्यालय विराटनगर–६ स्थित केसलियामा बन्धक बनाइ धम्की दिएर १५ लाख रुपैयाँ असुलेको र सो घटनाका दोषीलाई पक्राउ नगरिएको भन्दै त्यसकाविरुद्ध आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिएका छन् ।

घटनालगत्तै उजुरी परेपछि आरोपित खताबलाई प्रहरी कार्यालय बोलाइएका थियो । उद्योगी राठीले आफूलाई अपहरण गरेर बन्धक बनाई जबरजस्ती १५ लाख असुलेको भन्दै आरोपितविरुद्ध मंसिर २० गते प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले आरोपितसँग बयान लिएर सोही दिन छोडेको थियो ।

उजुरी दिएको एक साता बितिसक्दा पनि पक्राउ नगरेको भन्दै एमाले भ्रातृ संस्थाहरूले दबाब दिएका हुन् । यसअघि उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले आरोपितलाई पक्राउ गरी कारबाही गर्न माग गरेका थिए । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी दीपक श्रेष्ठले बताए ।


क्लिकमान्डु