करिडोर निर्माणले चक्रपथको सवारी जाम कम हुन्छ : नेता पौडेल



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले करिडोर निर्माणले चक्रपथ क्षेत्रको सवारी जाम कम हुने बताएका छन् ।

बूढानीलकण्ठ नगरपालिका–४ स्थित विष्णुमती करिडोर सडकको आज शिलान्यास गर्दै उनले करिडोर बनेको खण्डमा चक्रपथको जाम कम हुने बताएका हुन् ।

विष्णुमतीमा मापदण्डअनुसार करिडोर बनाउन नसक्दा सवारी जाम बढेको उनको भनाइ छ ।

काठमाडौँ क्षेत्र नं ५ का नवनिर्वाचित सांसद पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताए ।
उनले घोषणापत्र लेख्ने, प्रतिबद्धता व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहे राजनीतिसँग कोही पनि नजोडिने बताए । नेता पौडेलले विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेतालाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने बताए ।
उनले भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका आधारमा काम अघि बढाउन आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।

कतिपय सडकमा विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने भन्दै सडक अलपत्र छोडेको र मेलम्ची खानेपानीका लागि पाइप विच्छ्याउन सडक खनेर अलपत्र पारेकाले जनताले सास्ती भोग्नुपरेको उनको भनाइ छ । बिग्रिएका बाटोको मर्मतका लागि आवश्यक पहल गरिरहेको नेता पौडेलले बताए ।


क्लिकमान्डु