विराट एक्स्पो: प्रदेश १ का पर्यटकीयस्थल थ्रिडीबाट अवलोकन गर्न सकिने



विराटनगर । मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा पर्यटकीय क्षेत्रलाई विगतमाभन्दा भिन्न किसिमले प्रवद्र्धन गरिने भएको छ । एक्स्पो विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको खेल मैदानमा हुने भएको हो ।

एक्स्पो स्थलमा थ्रिडी भिआर प्रविधिको प्रयोग गरी आकर्षक तरिकारले प्रदेश १ का पर्यटकीय स्थलहरूको भिडियोग्राफीको माध्ययमबाट प्रवद्र्धन गरिने भएको हो ।

एक्स्पोमा अत्यधुनिक प्रविधिको प्रयोग गरिने हुँदा आगन्तुकहरूले प्रदेश १ का पर्यटकीय स्थलहरूलाई नजिकबाट नियाल्न सक्ने छन् । प्रदेशको पर्यटकीय स्थलहरूलाई प्रविधिमार्फत नजिकबाट नियाल्न चाहने आगन्तुकहरूलाई लक्षित गरी छुट्टै पेभिलियनको व्यवस्था गरिएको विराट एक्स्पोका प्रचारप्रसार संयोजक नन्दकिशोर राठीले बताए ।

राठीकाअनुसार एक्स्पोमा थ्रिडीआर प्रविधिको माध्ययमबाट सगरमाथा ‘बेस क्याम्प’, कञ्चनजंघा ‘बेस क्याम्प’, ग्योको लेक, पाथीभर क्षेत्रको दृश्यावलोकन तथा धार्मिक ‘टूर’ गर्न सकिने छ । यस्तै ‘होलोग्राम’ प्रविधिका माध्ययमबाट समेत भर्चुअल रियालिटीमा बराह क्षेत्र, तीनजुरे मिल्के तथा पाथीभराका दृश्यहरू अवलोकन गर्न सकिने छ ।

त्यस्तै प्यागोडा शैलीमा आकर्षक डिजाइनसहित निर्माण गरिने पर्यटन पेभिलियनमा प्रदेश १ का विभिन्न पर्यटकीय गन्तव्यहरूको जानकारी राखिने छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को पर्यटन समितिका संयोजक भविशकुमार श्रेष्ठले प्रदेश १ का धार्मिक, सांस्कृतिक, प्राकृतिक पर्यटकीय स्थलहरूका बारेमा एकै थलोमा जानकारी दिइने बताए । उनले पर्यटनका लागि छुट्टै पेभिलियन बनाएर आगन्तुकहरूलाई पर्यटकीयस्थलबारे विस्तृत जानकारी दिइने स्पष्ट पारे ।

एक्स्पोमा राखिने पर्यटन पेभिलियनमा पर्यटन व्यवसायीको संस्था होटल एशोसिएसन, टूर अपरेटर एशोसियसनलगायतका संस्थाहरूले माउण्टेन फ्लाइट तथा प्रदेश १ का विभिन्न गन्तव्यहरूको ‘टूर प्याकेज’ उपलब्ध गराउने आयोजक संस्था उद्योग संगठन मोरङले जनाएको छ ।


क्लिकमान्डु