दोलखामा आज ९ बजेबाट मतगणना शुरू हुने



दोलखा । दोलखामा प्रतिनिधिसभा सदस्यका लागि आज राति ९ बजेबाट मतगणना शुरू हुनेभएको छ ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार सर्वदलीय बैठक बसेर ९ बजेदेखि प्रतिनिधिसभा सदस्यको मतगणना सुरू हुने र भोलिबाट प्रदेशसभा सदस्यको पनि मतगणना गर्न शुरू गर्ने जानकारी दिए ।

दोलखामा प्रतिनिधिसभा सदस्यका लागि वाम–लोकतान्त्रिकबाट नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्की, नेकपा (एमाले) बाट बालकृष्ण शिवाकोटीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

दोलखाको १० मतदान केन्द्रमा आज पुनःमतदान भएको थियो । शान्ति पूर्णरूपमा मतदान भएको र ५० प्रतिशत मत खसेको मतदान अधिकृत श्रेष्ठले जानकारी दिए ।

उक्त जिल्लाको बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान सम्पन्न भएको थियो । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् ।


क्लिकमान्डु