प्रधानमन्त्री बन्न मलाई चुनाव जित्नुको विकल्प छैनः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने भएकाले आसन्न निर्वाचनमा जित निकाल्नुको विकल्प नरहेको बताएका छन् ।

बुधवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी बनेका महामन्त्री थापाले आसन्न निर्वाचन जितेर पार्टीबाट संसदीय दलको नेताका लागि भिड्ने बताएका हुन् ।

उनले आफ्नो पहिलो लक्ष्य प्रतिनिधि सभा सदस्य र दोस्रो लक्ष्य भनेको पार्टीबाट संसदीय दलको नेतामा जितेर प्रधानमन्त्री भइ देशको विकास गर्नु रहेको बताएका छन् ।

महामन्त्री थापाले हरेक निर्वाचनमा आफूलाई जनता नै शक्ति हुन् भन्नेकुराले डर लाग्ने गरेको बताए । यस अघिको चुनावमा धेरै स्थानमा उत्साह र सुभेक्षा देखिएपनि अहिले देशभरका विभिन्न स्थानमा चुनावप्रति आम मानिसको सुभेक्षा र उत्साह कम हुँदै गइरहेको बताए ।

आफ्नो निर्वाचन क्षेत्रमा भने नेपालको राजनीतिक नेतृत्व परिवर्तनको निम्ति प्रयत्न गर्ने कुरामा आम नागरिकको साथ रहेको र त्यसलाई आफूले पूरा गर्ने प्रतिवद्धता उनले जनाए ।

‘म प्रत्येक निर्वाचनमा डराउँछु । निर्वाचनमा डराउँछु भनेको त्यसले आफूलाई अनुशासित बनाउँछ, मतदातासँग सम्पूर्ण शक्ति निहीत हुन्छ भन्नेकुरालाई विश्वास गर्नुपर्छ । मसँग आफू बाहेकको मत हुँदैन, त्यसैले मतदातासँग शक्ति छ भनेर डराउनुपर्छ’ उनले भने, ‘हामील अहिले सांसदका लागि लडेका छौँ, त्यसपछि संसदीय दलको चुनाव हुन्छ, त्यसका लागि म लड्ने हो । जित्ने हो, त्यसपछि जो नेपाली काँग्रेसको संसदीय दलको नेता हुन्छ, त्यही प्रधानमन्त्रीको उम्मेदवार हुने हो ।’


क्लिकमान्डु