एमालेको घोषणापत्र: सबै सहकारीलाई सहकारी बीमा व्यवस्थामा आबद्ध गरिने



काठमाडौं । नेकपा एमालले घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र सार्वजनिक गर्दै एमालेले सबै सहकारीलाई सहकारी बीमा व्यवस्थामा आबद्ध गरिने जनाएको छ ।

‘सबै सहकारीलाई सहकारी बीमा व्यवस्थामा आबद्ध गरिने छ । सहकारी ऋण सूचना, तरलता व्यवस्थापन तथा कारोबार क्लियरिङ्गको व्यवस्था गरिने छ’ एमालेले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ ।

प्रभावकारी स्वास्थ्य बीमा कार्यक्रममार्फत् नागरिकको स्वास्थोपचार सहज बनाइने एमालेले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ ।

आगामी ५ वर्षभित्र सम्पूर्ण नेपालीको स्वास्थ्य बीमा गरिसकिने घोषणापत्रमा उल्लेख छ । स्वास्थ्य बीमाले समेट्ने सबै उपचार स्थानीय तहका स्वाथ्य केन्द्रहरूबाट उपलब्ध हुने गरी सनिश्चित गरिने एमालेले जनाएको छ ।

यस्तै, कृषि औजार र उपकरण स्वदेश मै उत्पादन गरी उपलब्ध गराइने, सबै स्थानीय तहमा कोल्डस्टोरेज र गोदाम सविुधा उपलब्ध गराइने छ ।

गोदाममा राखिएका कृषि उपजका आधारमा ऋण लिन पाउने व्यवस्था गर्ने, र हानी नोक्सानी हुनबाट बचाउन बीमाको व्यवस्थासहित निश्चित अनुदान समेत दिइने घोषणापत्रमा उल्लेख छ ।

कृषि उपजको बीमाको व्यवस्था गरिने समेत उल्लेख छ । यस्तै, ४१ महिनाको अवधिमा बीमा क्षेत्रमा गरिएका कामहरु समेत घोषणापत्रमा उल्लेख छ ।

कोभिड महामारीको बेला कोभिड बीमाको व्यवस्था गरी सामूहिक कोरोना बीमामा प्रिमियम अनुदान, बीमाको दायरा विस्तार गरी पशुपालन तथा साना व्यवसाय सञ्चालन गरेका स्वरोजगारको व्यवसायमा सिर्जना हुने जोखिम विरुद्ध बीमाको व्यवस्था गरिएको एमालेले जनाएको छ ।


क्लिकमान्डु