अब साँझको ८ बजे नै सुत्दैन काठमाडौंः विद्यासुन्दर




काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरको सार्बजनिक यातायात व्यवस्था सहज र सुलभ बनाउने बताएका छन् ।

साझा यातायातलाई नयाँ बस किन्न ५ करोड रुपैयाँ हस्तान्तरण गर्न आयोजित कार्यक्रमा प्रमुख शाक्यले महानगरको यातायात व्यवस्था सहज र सुलभ बनाउने बताएका हुन् ।

‘सार्बजनिक यातायात व्यवस्था सुधारका लागि महानगरले साझा यातायातसँग १५ करोड रुपैयाँको सेयर किनिसकेको छ, यो साझासँगको सहकार्यको सुरुवात मात्र हो,’ शाक्यले भने ।

यस अघि महानगरसँगको सहकार्यमा साझा यातायतले ३० वटा बस संचालन गरिसकेको छ । त्यस ३० वटा बसमा महानगरले १० करोड रुपैयाँको सेयर लगानी गरेको थियो । अहिले थप गर्न लागिएको नयाँ १३ वटा बसमा महानगरले ५ करोड रुपैयाँको सेयर लगानी गरेको छ । महानगर र साझा यातायातको सहकार्यमा संचालित बसको संख्या ४३ वटा पुग्नेछ ।

प्रमुख शाक्यका अनुसार काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सुधार उन्मुख देखिनुमा साझाका यातायातको महत्वपूर्ण भूमिका रहेको छ ।

‘साझा यातायातको पूनरागमनसँगै काठमाडौंका सडकमा निजी लगानीका सुविधासम्पन्न गाडीहरु चल्न थालेका हुन्, जसका कारण आम मानिसले सहज तरिकाले सार्वजनिक यातायातमा यात्रा गर्ने वातावरणको निर्माण हुन सकेको छ,’ उनले भने ।

साझा यातायात सहकारी संस्था भएकाले नाफामा जोड दिनुको सट्टा सुविधामा जोड दिन आवश्यक रहेको उनले औल्याए । साथै, साझा यातायातले जेष्ठ नागरिक, ५ वर्षभन्दामुनिका बालबालिका, अपांगलाई निशुल्क यात्रा गराउनु पर्ने शाक्यले बताए ।

देशको राजधानी सहर काठमाडौं महानगरलाई जीवन्त सहरको रुपमा विकास गर्ने योजना पनि उनले सुनाए ।

‘सहरलाई जीवन्त बनाउनका लागि रात्रीकालिन जीवन सहज र सुरक्षित हुन आवश्यक छ, त्यसका लागि सरकार, सुरक्षा निकाय र व्यपारीसँग समन्वयन गर्ने काम भईरहेको छ,’ शाक्यले भने ।

अहिले देशको राजधानी रातको ८ बजेदेखि नै सुनसान हुने गरेको छ । रातको समयमा सार्बजनिक यातायातको उपलब्धता र मानिसले अनुभुति गर्न सक्ने सुरक्षा प्रधान गर्न सकिए राजधानीलाई जीवन्त बनाउन सकिने उनको तर्क छ ।


क्लिकमान्डु