खाद्य संस्थानको गोदाममा म्याद गुज्रिन लागेका चामल, उपमेयर भन्छिन्- कारबाही गर्छौं



काठमाडौं । खाद्य संस्थान थापाथलीको सुपथ बिक्री कक्षमा केही बोरा चामलको म्याद गुज्रिन लागेको अवस्थामा भेटिएको छ ।

काठमाडौं महानगरपालिकाले मंगलबारबाट चाडपर्व लक्षित अनुगमन गर्दा यस्तो फेला परेको हो । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा भएको खाद्य संस्थान थापाथलीको सुपथ बिक्री कक्षमा बिक्री कक्ष, प्रदर्शन कक्ष र भण्डार कक्षमा अनुगमन गर्दा केही बोरा चामलको म्याद गुज्रिन लागेको अवस्थामा भेटिएको हो ।

संस्थानकी प्रादेशिक प्रमुख ज्ञानु थापाले उपभोक्तालाई म्याद सकिएका कुनै पनि सामान बेच्ने मनसाय नरहेको बताइन् । ‘म्याद सकिन लागेको हो, सकिएको होइन’ उनले भनिन्, ‘यस्ता सामान व्यवस्थापन गर्न समय छ ।’ अनुगमनका क्रममा उपप्रमुख एवं समितिकी संयोजक डंगोलले, कानुन सबैलाई बराबर हुने भएकाले बजारमा गलत गर्ने सबैलाई कारबाही गरिने बताइन् ।

‘त्यसो भन्दैमा अनुगमनमा कारबाही नै गर्नु पर्छ भन्ने पनि होइन । सामान्य खालका समस्या गर्नेलाई सचेत बनाउने, सुधार गर्न मौका दिने र गम्भीर प्रकृतिको गल्ती गर्नेलाई कारवाही गर्ने हो’ उनले भनिन्, ‘उपभोक्ताहरुलाई पनि जागरुक बनाउने हो । स्वच्छ र गुणस्तरीय सामान, सुपथ मूल्यका लागि उपभोक्ता आफैँ सचेत हुनुपर्छ । म उपभोक्ताहरुलाई आग्रह गर्न चाहन्छु । आफूले खरिद गर्ने सामानको उत्पादक को हो ? उत्पादन मिति कहिले हो ? उपभोग्य मिति कहिलेसम्म छ ? अतिकतम मूल्य कति हो ? सामग्री तयार हुँदा के–के मिसाइएको छ ? हेरेर मात्र खरिद गर्नुहोला ।’

पर्वका समयमा अनुचित लाभ लिनेहरु पनि हुने भन्दै त्यस्तासँग सचेत बन्न आग्रह गरिन् । उनले अनधिकृत व्यापारिक क्रियाकलापका सन्दर्भमा महानगरका हटलाइन फोनमा गुनासो टिपाउन सर्बसाधारणलाई आव्हान गरिन् । ‘हामी उजुरीकर्ताको नाम गोप्य राख्छौँ’ उनले भनिन्, ‘तपाईले टिपाएको समस्या समाधान गर्न हामी त्यहीँ पुग्छौँ ।’

अनुगमनका क्रममा खाद्य संस्थानमा केही कमजोरी भएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए ।

‘सरकारका संयन्त्रहरुले नमूना भएर देखाउनु पर्छ । ताकि ती कामलाई देखाएर अन्यत्र सिकाइ प्रवर्धन गर्न सकियोस्’ उनले भने ‘यहाँ त ती कार्यालयले गर्ने व्यवहार नै शंका गर्नु पर्ने खालका छन् ।’

मंगलबार कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा खाद्य बस्तुको विक्री व्यवस्था हेरिएको थियो । त्यहाँ सामानको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्य जस्ता पक्ष हेरिएको थियो ।

त्यस्तै पसलमा म्याद गुज्रिएका सामान राख्ने ठाउँको व्यवस्था, बिक्री कक्षको प्रबन्ध, खरिद तथा बिक्री बिल, दर्ता तथा नविकरण जस्ता पक्ष हेरिएको थियो । महानगरका टोल फ्रि नंम्बरहरु १६६००१ ०५५११ र ११८० हुन् । यीमध्ये ११८० स्वास्थ्य सेवाका लागि अन्तिममा ५५११ भएको नम्बर अन्य गुनासा तथा सुझावका लागि हो ।


क्लिकमान्डु