सीएनआइद्वारा ब्याजदर घटाउन माग



काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले हालै बैंकहरूले चर्को रूपमा बढाएको ब्याजदरको विरोध गरेको छ। सिएनआईले विज्ञप्ति निकालेर बैंक ब्याजदर वृद्धिप्रति विरोध जनाएको हो ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको अस्थिर अवस्थाबाट मुलुकलाई जोगाउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर बढाउने प्रतिस्पर्धात्मक कार्य रोक्नका लागि निर्देशन दिन विज्ञप्तिमा माग गरिएको छ ।

सिएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले जारी गरेको सो विज्ञप्तिमा सरकार निजी क्षेत्रबीच बैंकको ब्याजदर मुलुकको आर्थिक अवस्था सुदृढ नभएसम्म एकल अंकमा राख्ने पूर्वसहमति यथावत अवस्थामा राख्न माग गरेका छन् ।

उनले बैंकहरूले असोज महिनादेखि लागू हुने गरी निक्षेपमा नयाँ ब्याजदरसहित लगानीमा दोहोरो अंकमा ब्याजदर बृद्धि गरेकोमा असहमति जनाएका हुन् । उनका अनुसार विगतमा उद्योगी व्यवसायी सम्बद्ध संघसंस्थाहरूले राष्ट्र बैंक र सरोकारवाला निकायमा ब्याजदरबारे सुझाव दिएपनि त्यसको कार्यान्वय नभएको हो । बैंकहरू केवल नाफा कमाउने नीतिमा मात्रै केन्द्रित भएका छन् । जसले मुलुकमा आर्थिक गतिविधि यथेष्टरूपमा चलायमान हुन सकेको छैन ।

दुई आर्थिक वर्षदेखि देशको आर्थिक अवस्था कोभिडको मारमा परेको र त्यसलगत्तै रुस-युक्रेन युद्धको असरले आर्थिक क्षेत्रमाथि प्रहार भएको अवस्थामा औद्योगिक क्षेत्रले तरलताको अभाव सामना गर्नु परेको स्थिति छ, जसले गर्दा उपभोक्ताको क्रय शक्ति ह्रास हुँदै गएको कारण आर्थिक क्षेत्र प्रभावित भएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

सीएनआइले बैंक र उद्योग सञ्चालक एकै व्यक्ति वा एउटै परिवारबाट हुन नहुनेमा राष्ट्र बैंक ध्यानाकर्षण गराउँदै आएकोमा सुनुवाइ नभएको गुनासो गरेको छ । यी विविध समस्याका कारणले पनि आर्थिक क्षेत्र विकृति बन्दै गएको र त्यसले उद्योगी व्यवसायीहरूलाई निराश बनाएको जनाएको छ ।

यी यस्ता आर्थिक समस्याका सवालमा सरोकारवाला निकायहरूले समयकै ध्यान दिन नसके भविष्यमा मुलुको आर्थिक क्षेत्र सीमित व्यक्ति र घरानाको हातमा सीमित हुने र ठूलो आर्थिक दुर्घटना हुनसक्ने सम्भवनातर्फ सचेत रहन पनि सुझाब दिइएको छ ।


क्लिकमान्डु