कृष्णनगर भन्सारबाट ५ अर्ब रुपैयाँ राजस्व असुली



कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले पाँच अर्ब ४३ करोड ४४ लाख ३७ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

जिल्लाको सबैभन्दा ठूलो भन्सार नाकाको रुपमा रहेको कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए ।

भन्सारले गत वर्षभन्दा १६ करोड ३८ लाख ८१ हजार रुपैयाँ बढी राजस्व असुली गरेको छ । निर्यात ६५ प्रतिशतले वृद्धि भएको उनले बताए ।
निर्यात हालसम्मकै उच्च हो ।

आव २०७८/७९ मा प्लाइउड, टर्पेन्टाइन तेल, सुगन्ध तेल, तोरीको तेल, सुगन्ध कोकिला मार्क, काठका भाँडा, काठको कचौरा, टोकरी, हड्डी र सिङ, रोजिन र काठले बनेका सामग्रीको निर्यात बढेको पौडेलले जानकारी दिए ।

गत आवमा १४ करोड ८० लाख ४५ हजार रुपैयाँको प्लाइउड निर्यात भएको थियो । यसैगरी पाँच करोड ६२ लाख रुपैयाँको टर्पेन्टाइन तेल तथा तीन करोड ६६ लाख रुपैयाँको सुगन्ध कोकिला तेल भारततर्फ निर्यात गरिएको प्रमुख पौडेलले बताए ।

भन्सार नाकाबाट सबैभन्दा धेरै निर्यात हुनेमा प्लाइउड र रोजिन छ । गत आवमा २६ करोड २३ लाख ५४ हजार रुपैयाँको रोजिन निर्यात भएको थियो । यो अघिल्लो आवभन्दा आठ करोड ५३ लाख ५९ हजार रुपैयाँ बढी हो । कार्यालयबाट गत आवमा २६ अर्ब ८१ करोड ३८ लाख ९४ हजारको सामग्री आयात भएको थियो । आव २०७७/७८ मा २४ अर्ब ४९ करोड नौ लाख नौ हजार रुपैयाँको आयात भएको थियो । सबैभन्दा धेरै आयात हुनेमा चामल र फलफूल छन् ।


क्लिकमान्डु