३२ अर्ब रुपैयाँ पुँजीसहित भदौ महिनामा ३९ उद्योग दर्ता, ६ वटामा विदेशी लगानी



काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा करिब ३२ अर्ब रुपैयाँ लगानीसहित ३९ वटा उद्योग दर्ता भएका छन् । भदौ महिनामा ३१ अर्ब ८५ करोड २६ लाख ७९ हजार रुपैयाँ कुल पुँजीसहित ३९ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।

भदौ महिनामा १९ अर्ब २४ करोड ३ लाख ७५ हजार रुपैयाँ कुल पुँजीसहित १० वटा ठूला उद्योग, ११ अर्ब ६८ करोड १४ लाख रुपैयाँको २० वटा मध्यम र ९ अर्ब ३० करोड ९० लाख रुपैयाँको ९ वटा साना उद्योग दर्ता भएका छन् ।

गत साउन महिनामा स्वदेशी तथा विदेशी लगानीमा १ अर्ब २७ करोड २८ लाख रुपैयाँको कुल पुँजीसहित ६ वटा मध्यम वर्गका उद्योग र २ अर्ब ६ करोड ३२ लाख ५० हजार रुपैयाँको १२ वटा साना दर्ता भएका थिए ।

भदौ महिनामा ६ वटा वैदेशिक लगानीको उद्योग दर्ता भएका छन् । सो महिना विदेशी लगानीमा ५ करोड कुल पुँजीसहित काठमाडौंमा मेन्टर फ्रेयडस् प्रालि, ५ करोड ५० लाख रुपैयाँमा जिनमेन होटल, ८ करोड ६८ लाख रुपैयाँमा भिडिबि डेपलपर्स प्रालि, २० करोड रुपैयाँमा हाई मेई होटल एण्ड रेष्टुरन्ट, ५ करोड रुपैयाँमा भिएफएस ग्लोबल सर्भिसेस् नेपाल र ५ करोड रुपैयाँमा लोन्नी चिकेन चप प्रालि उद्योग दर्ता गरेका छन् ।

गत साउनमा १ अर्ब ४ करोड २५ लाख रुपैयाँ कुल पुँजीसहित ९ वटा उद्योग दर्ता भएका थिए ।

सबैभन्दा बढी पर्यटक क्षेत्रको उद्योग दर्ता

भदौ महिनामा सबैभन्दा पर्यटक क्षेत्रको उद्योग दर्ता भएका छन् । भदौमा मात्रै १३ वटा पर्यटक क्षेत्र सम्बन्धित उद्योग दर्ता भएका छन् । सो महिना ५ करोड ५० लाख रुपैयाँ कुल पुँजीसहित जीन मेन होटल, २० करोड रुपैयाँमा ग्रिन ज्याकपटो इन्टरटेनमेन्ट प्रालि, ३७ करोड रुपैयाँमा मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा, ६० करोड रुपैयाँमा ग्रान्ड सेन्ट्रल होटल, १७ करोड रुपैयाँको पशुपति रिक्रिएशन प्रालि, २० करोड रुपैयाँको भेन्टेन इन्टरटेनमेन्ट प्रालि, २५ करोड रुपैयाँकोक किङ्सवरी इन्टरटेनमेन्ट प्रालि, ३० करोड रुपैयाँको आजु होल्डिङ्स प्रालि, २० करोड रुपैयाँको रत्ना सर्भिसेज प्रालि, २० करोड रुपैयाँको हाई मेई होटल एण्ड रेष्टुरेन्ट, ३३ करोड रुपैयाँको होटल पञ्चावती प्रालि, ५५ करोड रुपैयाँको दोर्जेज फार्म रिसोर्ट प्रालि र ५ करोड रुपैयाँ कुल पुँजीसहित पर्यटन क्षेत्रको उद्योग दर्ता भएका छन् ।

त्यसैगरी, भदौ महिनामा निर्माण सम्बन्धी १२ वटा, विद्युतसम्बन्धी १२ ९ वटा, सेवा दिने ४ वटा र एउटा आईसीटी क्षेत्रको उद्योग दर्ता भएको विभागको तथ्याङ्कले देखाउँछ ।


क्लिकमान्डु