चार वर्षपछि भदौ महिनामा हालसम्मै उच्च नेपाली रोजगारीमा



काठमाडौं । नेपालबाट वार्षिक ५ लाखभन्दा बढी नेपाली रोजगारीमा विदेशिने गरेको सरकारी तथ्याङ्क छ । कोरोना महामारीका कारण करिब डेढ वर्षसम्म अस्तव्यस्त भएको वैदेशिक रोजगारी पुनः लयमा फर्किएको छ । गत वर्षमात्रै ६ लाख बढी नेपाली विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको भदौ महिनामा २०७५ को वैशाखपछि सबैभन्दा बढी नेपाली विदेशिएको विभागको तथ्याङ्कले उल्लेख गर्छ । आर्थिक वर्ष २०७४/७५ को वैशाख महिनामा विश्वका विभिन्न देशमा १ लाख ३३ हजार नेपाली वैदेशिक रोजगारीमा गएका थिए । जसमा सो आर्थिक वर्षमा ६ लाख १२ हजार ६८५ नेपाली विदेशिएका थिए ।

उक्त वर्ष ५ लाख बढी विदेशिएको तथ्याङ्क भएपनि त्यसपछि भने वैदेशिक रोजगारी जानेको संख्या घट्दो क्रममा थियो ।

घट्दो क्रममा रहेको वैदेशिक रोजगारीमा झनै कोरोना महामारीले ठप्प बनाएको थियो । कोरोनाले गर्दा अस्तव्यवस्त भएको रोजगारी पुनः उच्च बढेको छ । कोरोनाको समय अर्थात् आव २०७७/७८ मा पुनः श्रम स्वीकृति लिई १ लाख ६६ हजार ६९८ जना विदेशिएका थिए ।

कोरोना महामारीले घटेको वैदेशिक रोजगारी कोरोनापछि भने उच्च बढेको विभागको तथ्याङ्कले देखाउँछ । गत वर्ष नेपालबाट पुनः स्वीकृतिसहित ६ लाख २८ हजार ५०३ जना नेपाली विदेशिएका छन् ।

त्यस्तै, चालु आर्थिक वर्षको शुरुदेखि नै वैदेशिक रोजगारीको संख्या बढ्दो क्रममा छ । साउनमा मात्रै ६३ हजार नेपाली विदेशिएका छन् । विभागअनुसार भदौ महिनामा २०७५ साल बैशाख महिनापछि कै सबैभन्दा बढी नेपाली विदेशिएका छन् ।

२०७५ साल वैशाख महिनामा १ लाख ३३ हजार नेपाली विदेशिएका थिए । त्यसपछि मासिक ६० हजारको हाराहारीमा नेपाली विदेशिँदै आएका थिए । तर, भदौ महिनामा मात्रै ७६ हजार ४०३ जना नेपाली विदेशिएका छन् । जुन ४ वर्षपछि कै सबैभन्दा बढी हो ।

भदौ महिनामा नयाँ श्रम स्वीकृति मात्रै ५७ हजार ६९३ जनाले लिएका छन् भने १८ हजार ७१० जनाले पुनः श्रम स्वीकृति लिएका छन् । भदौ महिनामा श्रम स्वीकृति लिएकामध्ये ६८ हजार ८८४ जना पुरुष छन् भने ७ हजार ५१९ जना महिला छन् ।

कोभिडपछि विस्तारै लयमा फर्किएको वैदेशिक रोजगारी एकै महिनामा ७६ हजारभन्दा बढी नेपाली विदेशिनुको मुख्य कारण कोभिड रहेको वैदेशिक रोजगार विज्ञ शोम लुईटेल बताउँछन् । उनकाअनुसार कोभिडले गर्दा लामो समयसम्म वैदेशिक रोजगार अस्तव्यस्त भएको थियो । जसले गर्दा हजारौं श्रमिकहरु जान पाएका थिएनन् । त्यसैले अहिले कोभिडकै कारण अड्किएका श्रमिक विस्तारै विदेश पलायन हुन थालेको हो ।

त्यसैगरी, वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्नुको अर्को मुख्य कारण मलेसिया रोजगारी रहेको बताए । सरकारले मलेसिया कामदार पठाउने संस्थाले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगारी बन्द गरेको थियो ।
उक्त देशको रोजगारी बन्द भएसँगै हजारौं युवाहरु मलेसियामै अड्किएका थिए भने हजारौं नेपाली मलेसिया जान पाएका थिएनन् । त्यसैले, कोरोनापछि मलेसिया रोजगारी पनि खुलेको र काभिडको जोखिम पनि कम भएकाले विदेशिनेको बढ्दै गएको उनको भनाइ छ ।

विगतको दिन देखिनै नेपाली युवाहरुको आकर्षक गन्तव्यको रुपमा मलेसिया रहिआएको छ । त्यस्तै, भदौ महिनामा पनि विश्वका ८८ वटा देशमा नेपालीहरु विदेशिँदा मलेसियामा मात्रै ३५ हजार ३७२ जना गएका छन् । जसमा ३३ हजार २० जनाले नयाँ श्रम स्वीकृति लिएर गएका छन् भने २३ सय ५२ जनाले पुनः श्रम स्वीकृति लिएर मलेसिया पुगेका छन् ।

मलेसियापछि सबैभन्दा बढी कतारमा गएका छन् । भदौ महिनामा कतारमा ११ हजार ७७५ जना नेपाली पुगेका छन् । त्यसैगरी, युएईमा ८ हजार ३६५ जना, साउदी अरेबियामा ६ हजार ७८५ जना र कुवेतमा ५ हजार २९ जना नेपाली रोजगारीको खोजीमा उक्त देशमा पुगेका छन्।

भदौ महिनामा ७६ हजार नेपाली विदेशिँदा १३ जना उच्च दक्ष जनशक्ति विदेशिएका छन् । त्यस्तै, प्रोफेसनल १४६ जना, अर्धदक्ष ५ हजार ९२ जना, दक्ष ४६ हजार ६९ जना र अदक्ष २५ हजार ८३ हजार जना नेपाली विदेशिएका छन् ।


क्लिकमान्डु