अब चितवनमा पनि ‘पठाओ’



काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ ।

करिब ४ वर्षदेखि काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओको राइड सेयरिङ सेवा छिट्टै चितवनमा पनि विस्तार गर्ने घोषणा गरेको छ ।

चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा सुरु गरिने बताइएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको पठाओ नेपालको प्रबक्ता सुरक्षा हमाल बताउँछिन् ।

‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । करिब सबै तयारीहरू पुरा भइसकेका छन्,’ उनी भन्छिन् ‘पार्टटाइम काम गर्न चाहनेलाई पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ । आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले पठाओमा राम्रो आकर्षण छ ।’

चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुर कान्ती चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्छन् । थप जानकारीका लागि ०१-५९७००९९ मा कल गर्न पनि सकिन्छ ।


क्लिकमान्डु