शिवपुरी निकुञ्जको धाप तालको पानी कात्तिकबाट बागमतीमा, परियोजनाको काम ९८% सकियो



काठमाडौं । बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कात्तिकबाट बागमती नदीमा सफा पानी बग्ने भएको छ ।

सिन्धुपाल्चोक र नुवाकोटको सिमाना जोडिएको काठमाडौंको उत्तरपूर्वी भागमा ताल बनाइएको हो । यो नागमती नदीको मुहान पनि हो ।

बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएको हो । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ स्थित शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र बागमती धाप परियोजनामा जम्मा गरिएको पानी आगामी असोज २९ गतेपछि बागमती नदीमा पठाउने तयारी भइरहेको छ ।

समुन्द्री सतहबाट दुई हजार ८० देखि ९० मिटरको उचाईमा मानव निर्मित यति ठूलो पोखरी नेपालको पहिलो हो ।

यो धाप नेपालमै पहिलो सीएफआरडी ड्याम पनि हो । उपत्यकाको उत्तरपश्चिम चुचुरो मुलखर्क गाउँको सिरानमा बनिरहेको कृतिमताल निर्माणको लागत ४५ करोड(भ्याटसहित ५१ करोड) रुपैयाँ रहेको छ । यो ड्याम आठ हेक्टर अर्थात् १५८ रोपनीमा फैलिएको छ । सन् २०१५ देखि ड्यामको काम शुरु गरिएको थियो । ८४ प्रतिशत ऋण र बाँकी १६ प्रतिशत नेपाल सरकारले व्यहोर्ने गरेर आयोजना शुरु गरिएको थियो ।

यो धापमा २४ मिटर अग्लो बाँध हुने र बाँधमा वर्षा याममा परेको पानी र विभिन्न जलाधार क्षेत्रबाट आएको पानी संकलन गरिनेछ । यो क्षेत्र आफैँमा धाप क्षेत्र पनि हो । निर्माण हुँदै गरेको धाप बाँधले सुख्खायाममा प्रतिसकेण्ड ४० लिटरका दरले बागमतीमा आठ महिनासम्म पानी छोड्न मिल्नेछ ।

ढलको व्यवस्थापन प्रभावकारी हुनसके र सँगसँगै फोहोर व्यवस्थापन भएको खण्डमा त्यसले बागमतीको शिरदेखि चोभारसम्म नै सफा पानी बग्नेछ । आयोजनाका प्रमुख इन्जिनियर निश्चल छत्कुलीले काठमाडौं उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दिनानुदिन घट्दै गइरहेको अवस्थलाई मध्यनजर गरेर धाप निर्माण गरेको बताए ।

उनले बागमतीमा पानीको वहाव र पानीको गुणस्तर बढाउनको लागि विभिन्न स्थानमा धापहरुको निर्माण गरी स्नानयोग्य बनाउने उद्देश्यले धाप निर्माण गरेको बए ।

छत्कुलीले ड्याम बनाउने काम हालसम्म ९८ प्रतिशत सम्पन्न भएको जानकारी दिए । धापबाट बागमतीमा पानी पठाइसकेपछि पनि नुहाउनयोग्य बनाउनको लागि ४५० लिटरजति सफा पानी मिसाउनुपर्ने जायिकाको अध्ययनले देखाएको उनले बताए ।

एशियाली विकास बैंकको ऋण सहयोगमा यो अभियान शुरु भएको थियो । मुख्य ड्यामसँगै सहायक ड्यामहरु पनि निर्माण भइ पानी जम्मा गर्न शुरु गरिएको उनले जानकारी दिए ।

शुरुमा ८ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भनिए पनि अहिले त्यो भन्दा धेरै मात्रामा जम्मा गर्न सकिने अध्ययनले देखाएको उनले बताए ।

‘अहिले यो परियोजनाको ९८ प्रतिशत काम सकिएको छ । यसको मुख्य ड्याम र सहायक ड्यामहरु पनि निर्माण भइ पानी जम्मा गर्न शुरु गरिएको छ । २०८३.५ जतिको हारहारीमा पानीको लेभल पुगिसकेको छ । यसमा हामीले शुरुमा ८ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भनेका थियौँ । तर त्यो भन्दा धेरै पानी उपलब्ध हुने अध्ययनले देखाएको छ’ प्रमुख इन्जिनियर छतकुलीले भने ।

८ महिना ४० लिटर बगाउनसक्ने अनुमान गरेर धाप निर्माण गरेपनि नागमति धाप निर्माण नहुँदासम्म योजना अनुसारको पानी प्रवाह गर्न नसकिने उनले बताए ।

बागमती ड्याम नबनुन्जेलसम्म ४० लिटर मात्रै पठाउनसक्ने र सीमित पानीले अनुभव गर्नसक्ने गरेर बागमतीमा पानी प्रवाह नहुने उनी बताउँछन् ।

धापबाट पठाइने पानी पशुपति आर्यघाटमा आम सर्वसाधारणहरुले अनुभव गर्ने गरेर पठाउनुपर्ने उनको भनाइ छ । पशुपति क्षेत्र विकास कोषसँग पनि समन्वय गरेर पशुपतिनाथ मन्दिर परिसरमा वर्षको २७ दिन, विशेष पर्वहरुमा ४ सय लिटर नै पानी पठाउने बारेमा सहमति भएको छ ।

प्रमुख इन्जिनियर छतकुलीले धाप ड्याम नजिकै शिवपुरी निकुञ्ज क्षेत्रमा अर्को बाँधको लागि अध्ययन र विस्तृत डिजाइन, वातावरणीय अध्ययन भइरहेको बताए ।

धाप ड्याममा जम्मा भएको पानी नागमतिको ड्याममा जम्मा भएपछि क्रमशः पानी छोड्दै जाँदा बागमतीमा मिसिन्छ । यो पानीबाट विद्युत निकाल्ने उद्देश्य रहेको छ भने बागमती नदीको सफाइ गर्ने अभियान पनि यसैसँग जोडिएको छ ।

प्रस्तावित नागमति बाँध ९० मिटर अग्लो हुनेछ र यसले ८० लाख घनमिटर पानी जम्मा गर्ने क्षमता राख्नेछ । यो बाँधबाट चार मेगावाट विद्युत उत्पादन गर्न सकिनेछ भने त्यसले जलाधार क्षेत्र र उपत्यकामा जमिनमुनिको पानी पुनःभरण (रिचार्ज) गर्न ठूलो सहयोग गर्नेछ । सुन्दरीजलबाट नागमति ड्याम पुग्न पाँच किलोमिटर मात्र छ ।


क्लिकमान्डु