सर्वेक्षण अनुमतिपत्रको म्याद २ वर्ष थप्न इप्पानको माग




काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान)ले ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई सर्वेक्षण अनुमतिपत्रको म्याद २ वर्ष थप गर्न आग्रह गरेको छ ।

विद्युत उत्पादनको सर्वक्षण अनुमतिपत्रको अध्ययन अवधि ५ वर्षमा समाप्त भएपछि पुनः तिनै कम्पनी वा प्रबर्धकहरुले आबेदन गरेमा २ वर्ष अवधि थप गर्न ईप्पानले आग्रह गरेको छ ।

मन्त्रालयबाट २ वर्ष अवधि थपि सहजीकरण गर्ने विषयमा मौखिक सहमति भएको भन्दै त्यही अनुसार कार्यान्वयन गर्न सैद्धान्तिक सहमति प्रदान गर्न अनुरोध गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालको संयोजकत्वमा २०७७ भदौ २२ गते गठित समितिले सर्वेक्षण अनुमति पत्र, उत्पादन अनुमति पत्र र वित्तीय ब्यवस्थापन लगायतको म्याद थपका लागि गरेको सिफारिसका आधारमा सर्वेक्षण अनुमति पत्रबाहेक अरुको म्याद थप गरी सहुलियत प्रदान गरेको ईप्पानको भनाइ छ ।

उक्त समितिले सिफारिस गरे पनि ऐनमै संशोधन गर्नुपर्ने भएका कारण सर्वेक्षण अनुमति पत्रको म्याद भने थप हुन नसकेको ईप्पानको गुनासो छ ।

कोभिड–१९ ले विदेशी परामर्शदाता दुई वर्षसम्म आउन नसक्दा तथा स्वदेशी परामर्शदाता पनि कार्यस्थलमा जान नसक्दा तथा राष्ट्रिय निकुन्ज वा आरक्षण क्षेत्र/संरक्षण क्षेत्रमा परेका धेरै आयोजनाहरुलाई ति निकायहरुले ईआईए/आईईको अनुमति नदिँदा अधिकांश आयोजनाहरुको संभाव्यता अध्ययनको कार्य प्रभाबित भएको ईप्पानको गुनासो छ ।


क्लिकमान्डु