बालेनपछि चिरिबाबु पनि ताते, अवैध संरचना हटाउन जुट्यो ललितपुर



काठमाडौं । ललितपुर महानगरपालिकाले फुटपाथ ओगटेर बनाइएका संरचनाहरु भत्काउन शुरु गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अवैध संरचना हटाउने अभियान शुरु गरेपछि यसको प्रभाव अन्य पालिकाहरुमा पनि देखिन थालेको छ ।

यसैबीच, ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले पनि आफ्नो महानगरपालिकाभित्र फुटपाथ मिचेर बनाइएका संरचनाहरु भत्काउन शुरु गरेका छन् ।

ललितपुर महानगरपालिकाले महानगरकै घर भत्काएर यसको शुरुवात गरेको हो ।

ललितपुर महानगपलिकाले फुटपाथ मिचेर बनाएको र कर तिरिरहेको भए पनि यसलाई हटाएर अभियानको शुरुवात गरेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।

पार्किङको लागि बनाएका बेसमेन्टलाई भने दसैंपछि हटाउने महानगरको योजना रहेको छ । मेयर महर्जनको आदेशपछि संरचना हटाउने काम शुरु भएको हाछेथुले जानकारी दिए ।

ललितपुर महानगरपालिका वासिन्दासँग सल्लाह गरेर संचरना हटाउन शुरु गरिएको र डोजर चलाएर हटाउने प्रयास नगर्ने उनको भनाइ छ ।

काठमाडौं महानगरले अभियानलाई तिव्रता दिएसँगै देशभरका विभिन्न स्थानीय तहहरुले अतिक्रमण गरि बनाइएका संरचना हटाउने अभियान सुरु गरेका छन् ।


क्लिकमान्डु