मुड्खु-तीनपिप्ले सडक निर्माणको टेण्डर खुल्ला, चार कम्पनी प्रतिस्पर्धामा



काठमाडौं । प्रचण्डका घरबेटी शारदा अधिकारीको निर्माण कम्पनी शारदा कन्स्ट्रक्सनमार्फत् ठेक्का रद्द भएको मुड्खु–तीनपिप्ले सडक खण्ड निर्माणकोठेक्का खुल्ला भएको छ ।

आयोजना प्रमुख गौतम कुमारका अनुसार आजबाट टेण्डर खुल्ला गरिएको हो । चार कम्पनीले टेण्डर भरेको उनले जानकारी दिए ।

गौरी पार्वती कन्सट्रक्सन, समानान्तर कन्सट्रक्सन, देव एण्ड सायर कन्सट्रक्सन, कमलजित एण्ड ड्रागन कन्स्ट्रक्सनले सडक विभागले गरेको बोलपत्र आह्वानमार्फत् टेण्डर भरेका हुन् । विभागले हाललाई प्राविधिक प्रस्ताव मात्रै खोलेको आयोजना प्रमुख गौतम कुमारले बताए ।

‘अहिले प्राविधिक प्रस्ताव खोलिएको हो । आर्थिक प्रस्ताव खोल्न बाँकी छ । त्यसका लागि केही समय लाग्छ । अब उनीहरुको मूल्यांकन भएपछि कसलाई पर्छ, कतिमा पर्छ भन्ने थाहा हुन्छ,’ उनले भने ।

मुड्खु– तीनपिप्ले सडकखण्डको निर्माण यसअघि प्रचण्डका घरबेटी शारदा अधिकारीसमेत सञ्चालक रहेको शैलुङ्ग कन्सट्रक्सनले गरिरहेको थियो । तर, तोकिएको समयमा काम पूरा नगर्दा र पटक पटक समय थप्नु परेपछि सडक विभागले कम्पनीसँग ठेक्का रद्द गरेको थियो ।

निर्माण कम्पनीले ठेक्का रद्द भएको विषयलाई लिएर जिल्ला अदालत ललितपुरमा जाँदा गत साउन ३१ मा अदालतले ठेक्का रद्द हुने निर्णयलाई नै सदर गरेको थियो ।


क्लिकमान्डु