चोभार भन्सारबाट साउन महिनामा ३ करोडको वैदेशिक व्यापार



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा चोभार भन्सारबाट ३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ ।

२०७८ को चैत २२ गतेबाट पूर्ण सञ्चालनमा आएको चोभार भन्सारबाट साउन महिनामा २ करोड ९७ लाख रुपैयाँको वैदेशिक व्यापार भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागको तथ्याङ्अनुसार साउन महिनामा सो भन्सारबाट २ करोड ६३ लाख ९३ हजार रुपैयाँको वस्तु आयात गर्दा ३३ लाख ८ हजार रुपैयाँको निर्यात भएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले डेढ अर्ब बढी रकम खर्चेर निर्माण गरिएको सो बन्दरगाहको भन्सारबाट हालसम्ममा १३ करोड ४१ लाख ४८ हजार रुपैयाँको वैदेशिक व्यापार भएको छ । जसमा सो भन्सारले १२ करोड ५२ लाख ७० हजार रुपैयाँको वस्तु आयात हुँदा ८८ लाख ७८ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

अत्याधुनिक भन्सारको रुपमा निर्माण गरे पनि अपेक्षाअनुसार भने चल्न नसकेको सरोकारवालाहरूले बताएका छन् । यसअघि सञ्चालनमा आएको महिनौं बित्दा पनि कन्टेनर आउन नसकेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीहरूसँग छलफल गरेका थिए ।

उक्त छलफलमा व्यवसायीहरूले विभिन्न समस्या देखाउँदै आयात तथा निर्यातको क्रममा सहुलियत प्रदान गर्नुपर्ने माग गरेका थिए । साथै, आगामी दिनमा पूर्ण सञ्चालनका लागि सरकारले व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।


क्लिकमान्डु