मापदण्ड विपरीतका संरचना र फुटपाथ व्यापार हटाउन मध्यपुर थिमिको ३५ दिने सूचना



काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले मापदण्ड विपरित बनेका भवन र फुटपाथमा व्यापार व्यवसाय हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

आज एक सूचना जारी गर्दै मध्यपुर थिमी नगरपालिकाले नगरक्षेत्र भित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरु र नगरका अन्य भित्री सडक तथा क्षेत्रमासमेत प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड विपरित सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरु निर्माण भएको भन्दै सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ।

त्यस्तै सार्वजनिक आवागमनमा बाधा अवरोध पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्ने, अव्यवस्थित रुपमा सवारी साधनहरु पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्यवसाय गरी आवागमन अवरुद्ध बनाउने कार्य गरेको देखिएकोले सार्वजनिक सूचना जारी गरिएको जनाइएको छ ।

‘उल्लेखित भए गरेका कार्यहरु यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउनु होला’ सूचनामा भनिएको छ । अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानून बमोजिम कारबाही गरिने नगरपालिकाले सूचनामा जनाएको छ।

काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने अभियानलाई तिव्रता दिइरहँदा अन्य स्थानीय तहहरुले पनि यस्तै अभियान सञ्चालन गर्ने भएका हुन् ।


क्लिकमान्डु