बेसमेन्टका अनधिकृत संरचना भत्काउने अभियानमा मेरो साथ छ: उपमेयर डंगोल



काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाइपछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना हटाउने महानगरको अभियानमा आफ्नो साथ रहने स्पष्ट पारेकी छन् ।

नेकपा एमालेका कतिपय नेताले मेयर बालेन्द्र शाहले भवनहरुमा डोजर चलाएको भन्दै बिरोध गरिरहँदा सोही दलबाट महानगरमा उपमेयर विजयी डंगोलले संरचना हटाउने र कानुन कार्यान्वयन गर्ने सबै कार्मा आफ्नो साथ सहयोग र समर्थन रहेको स्पष्ट गरेकी हुन् ।

एक अपिल जारी गर्दै उपमेयर डंगोलले भनेकी छन्,’सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौँ महानगरपालिकाले निरन्तरता दिदैँ आएको विदितै छ । त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको हो । म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।’

काठमाडौं महानगरलाई स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेण्डाप्रति आफू सजग र सचेत रहेको उनले स्मरण गराएकी छन् । तर, महानगरको पछिल्लो अभियानमा केही सञ्चारमाध्यमले आफूलाई जोडेर भ्रम सिर्जना गर्न खोजेको भन्दै त्यस्ता समाचारप्रति आफ्नो ध्यानार्षण रहेको उनको भनाइ छ ।

‘केही दिनदेखि मुख्य गरेर केही अनलाइन मिडियाहरुमा महानगरपालिकाको पछिल्लो अभियानसँग मलाई जोडी आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषणप्रति मेरो ध्यानाकर्षण भएको छ’उनले भनेकी छन् ।

आफूसँग जोडिएका समाचारमा कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुने उनको भनाइ छ ।


क्लिकमान्डु