बालेनको आग्रह र ‘एक्सन’पछि व्यापारी आफैंले हटाउन थाले अन्डरग्राउन्ड पार्किङबाट पसल



काठमाडौं । काठमाडौं महानगरपालिकाकाले व्यवसायीक भवनका बेसमेन्टमा पार्किङको व्यवस्था नगरिएको भन्दै भत्काउने अभियान शुरु गरेपछि ठूला व्यापारिक भवनहरुले आफैं पार्किङ खाली गर्न थालेका छन् ।

बुधबार र बिहीबार महानगरका मेयर बालेन्द्र शाह यस्ता भवनमा बनेका संरचना भत्काउन सक्रिय बनेपछि कतिपय घरधनीहरुले अण्डरग्राउण्ड पार्किङ निर्माणको कार्य थालेका हुन् ।

काठमाडौंको बानेश्वरमा रहेको यूएफओ रहेको भनवको अन्डरग्राउण्ड पार्किङको मर्मत भइरहेको सूचना टाँस गरिएको छ।
‘कामनको सूचनालाई अनुसरण गर्दै अन्डरग्राउण्ड पार्किङ मर्मतको निर्माण कार्य हुँदैछ’ सूचनामा भनिएको छ ।

व्यवसायीक भवनमा पार्किङको अनुमति लिइएर अन्य संरचनाका लागि भाडामा लगाइएको भन्दै महानगरले हटाउन ३५ दिने सूचना जारी गरेको थियो । तर घरधनीहरुले त्यसलाई वेवास्ता गरेपछि महानगर एक्सनमा उत्रिएको हो ।

महानगरका प्रमुख शाहले अल्फाबिटामा बिहीबार डोजर चलाएपछि भनेका थिए, ‘… अब उपरान्त यस्तो गर्न नपरोस् , सबैले आफैं बुझेर अवैधानिकरुपमा बनाइएको संरचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।’


क्लिकमान्डु