बीमा दाबी भुक्तानीमा जालसाजी तथा ठगीका घटना- प्रहरीसँग छलफलमा समिति



काठमाडौं । बीमा व्यवसायमा दाबी भुक्तानी, जालसाजी तथा ठगीका घटना देखिन थालेपछि बीमा समितिले नेपाल प्रहरीका विभिन्न निकायहरूसँग बीमा दाबी भुक्तानीमा देखिएका समस्या र समाधानका उपायसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

बीमा व्यवसायमा भएको विस्तारसँगै समस्याहरू पनि थपिंदै गएको, दाबी भुक्तानीमा समस्या देखिएको र जालसाजी तथा ठगीका घटनाहरूसमेत देखिन थालेकाले यस्ता समस्याहरूका बारेमा छलफल गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले छलफल गरिएको समितिले जनाएको छ ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समिति, नेपाल प्रहरी र बीमा कम्पनीहरूबीचको सहकार्यबाट नै बीमा व्यवसायमा देखिएका समस्याहरू समाधान गर्न सकिने बताएका छन् ।

अध्यक्ष सिलवालले बीमा व्यवसायमा देखिएका धेरै घटनाहरूको छानबीन गरी टुँगोमा पुर्‍याउन प्रहरीको सहयोग आवश्यक रहेको बताए ।

‘बीमा समितिले बीमा व्यवसायमा देखिएका अनियमितता र कानून विपरितका क्रियाकलापको अनुसन्धान गरी नियन्त्रण गर्न भरसक कोसिस गरिरहेको छ । करोडौंको बीमालेखमा अवैध लगानी भइ वित्तीय अपराधसमेत हुनसक्ने आशंका भएकाले त्यसमा पनि समितिले निगरानी गरिरहेको छ,’ अध्यक्ष सिलवालले भने, ‘तर व्यवसायको विस्तारसँगै बढ्ने अपराधिक क्रियाकलापको अनुसन्धान समितिले मात्र गर्न सक्दैन । अब अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाउनुपर्ने बेला आएको छ ।’

अध्यक्ष सिलवालले बीमा व्यवसायमा देखिएका धेरै घटनाहरूको छानबिन गरी टुँगोमा पुर्‍याउन प्रहरीको सहयोग आवश्यक रहेको बताए । उनले कम्पनीहरूमा जोखिमाङ्कनमा समस्या रहेको बताए ।

‘बीमा व्यवसाय अब एकाङ्कीरूपमा चल्न सक्दैन । फाइदाका लागि गलत गतिविधि गरिएका हुन सक्छन् । जोखिमाङ्कनमा समस्या छ । फाइदाका लागि नीति, नियम र निर्देशिकालाई तोडमोड गर्ने गरिएको पाइन्छ,’ सिलवालले भने,‘ ‘जीवन तथा निर्जीवन बीमामा कहाँ कहाँ कमी कमजोरी छन्, बीमा समितिले बुझेको छ र सोही अनुसार अनुसन्धान र कारबाही अगाडि बढाएको छ।’

कार्यक्रममा नेपाल प्रहरीको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले बीमा सम्बन्धी समस्याको समाधानका लागि जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने र समस्या समाधानका लागि बीमा समितिले ठोस नीति ल्याउनुपर्ने बताइन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्यले बीमामा हुने अपराध तथा ठगी लगायतका सबै घटनाको अनुसन्धानका साथै ठूला ठूला बीमालेखहरूमा हुने लगानीका सम्बन्धमा समेत अनुसन्धानको आवश्यकता रहेको औंलाए ।


क्लिकमान्डु