बिग बुल राकेश झुनझुनवालाकाे सेयर लगानीकर्तालाई ५ टिप्स



एजेन्सी । बिग बुलका नामले परिचित भारतीय सेयर बादशाह राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा आइतबार विहान निधन भएको छ । भारतमा वारेन वफेटका नामले परिचित झुनझुनवाला भारतका सबैभन्दा ठूला लगानीकर्तामध्येका एक थिए ।

फोर्ब्सका अनुसार कुल ५.८ अर्ब डलर सम्पत्ति भएका झुनझुनवालाले ५ हजार भारु लगानी गरेर सेयर बजारमा प्रवेश गरेका थिए । उनले प्रतिकित्ता ४३ भारुमा खरिद गरेको टाइटनको सेयर ३ महिनापछि १४३ भारुमा बिक्री गरेका थिए । उनले गत साता मात्रै लो कस्ट क्यारियर आकासा एयरको शुरुवात गरेका थिए । उनी आकासाका सबैभन्दा ठूला लगानीकर्ता समेत हुन् ।

इन कम ट्याक्स अफिसरका छोरा समेत रहेका चार्टर्ड अकाउन्टेन्ट झुनझुनवाला सेयर बजारमा लगानी गर्नेका लागि १८ देखि २१ प्रतिशतको प्रतिफल पाउनु निकै राम्रो भएको सुझाव दिन्थे । उनी स्टार हेल्थ र एपटेक लिमिटेडलगायतका कम्पनीका प्रमोटर समेत थिए ।

उनले सेयर बजारमा लगानीकर्ताका लागि दिएका मुख्य गरी ५ वटा टिप्स यहाँ उल्लेख गरिएको छ ।

१) सेयर भाउ भगवान हो, सम्मान गर्नुपर्छ
सेयर मूल्यलाई सधैभरी सम्मान गर्नुपर्छ । हरेक मूल्यमा एक खरिदार र एक बिक्रेता हुन्छ । र, भविष्यले मात्रै खरिद गर्ने वा बिक्री गर्ने सही छ भन्ने तय गर्छ । त्यसैले यो विषयलाई सधैभरी सम्मान गर्नुपर्छ । सेयर बजारबाट बाहिरिँदै गर्दा वा प्रवेश गर्दै गर्दा तपाईं गलत हुनसक्नुहुन्छ भन्ने पक्षलाई सम्मान गर्नुपर्छ ।

२) ऋण लिएर लगानी नगर्नु
बजारप्रति तपाईंको अनुमान गलत पनि हुनसक्छ । यदि तपाईंले कुनै स्टक खरिद गर्नुभयो र यसमा अनुमान अनुसार तल माथि हुन सक्छ । यस्तो अवस्थामा उधारो लिनु तपाईंका लागि समस्या बन्न सक्छ । त्यसैले सकेसम्म ऋण लिएर सेयर बजारमा लगानी नगर्नुहोस् ।

३) जोखिम
जोखिमसँग सधैभरी सावधान हुनु जरुरी हुन्छ । तपाईंले त्यति मात्रै लगानी गर्नुहोस् जति तपाईं छोटो समयमा जोखिम उठाउन सक्नुहुन्छ । त्यसैले लगानी गर्नु पूर्व जोखिम मूल्यांकन गर्नुपर्ने हुन्छ । कैयन पटक लगानीकर्ताहरु धेरै जोखिम लिँदा आफैलाई समस्यामा पार्छन् । त्यसैले त्यसमा विशेष ध्यान दिनुपर्छ ।

४) लगानी सिकाउन सकिन्न
गल्तीहरु गर्नुहोस् तर यस्तो गल्ती जुन तपाईं सहन सक्नुहुन्छ । यसले तपाईंलाई अर्को गल्ती गर्नबाट बचाउँछ । जुन गल्ती एक पटक गर्नुभयो त्यसलाई नदोहोर्याउनुहोस् । गल्ती दोहोर्याउनुको अर्थ विगतबाट केही नसिक्नु हो ।

५) आशावादी बन्नुहोस्
लगानीकर्ता आशावादी बन्नु भनेको पहिलो गुण हो । जुन बजारमा सफलता प्राप्त गर्नका लागि लगानीकर्ताका रुपमा हुनुपर्छ । यस्तो किनभने सेयर बजारमा तपाईंको धैर्यको परीक्षा हुन्छ । र, विश्वास तपाईंलाई रिवार्ड प्राप्त गर्छ ।


क्लिकमान्डु