नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीच अनुसन्धानमा सहकार्य गर्ने सम्झौता



काठमाडौं । नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय बिभागबीच अनुसन्धानसम्बन्धी कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौताअनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय बिभागमा अध्ययनरत बिद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउनेछन् ।

सो बिभागका बिद्यार्थीहरु र प्राध्यापकहरुमार्फत् नेपाल बैंकले आर्थिक तथा बैंकिङ्ग क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु संचालन गर्नेछ । बैंकको अनुसन्धान सम्बन्धी कार्यको लागि व्यवस्थापन विभागले विषय विज्ञको रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउनेछ र सो सूची अन्तर्गतका प्राध्यापकहरुलार्ई आवश्यकताअनुसार बैंकले अनुसन्धानको लागि विषय विज्ञका रूपमा नियुक्त गर्नेछ ।

त्यसैगरी बैंकले गरेका अनुसन्धान सम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रमहरू एमबिए र एमबिएममा अध्ययनरत विद्यार्थीहरूलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट(जिआरपी) अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्तिस्वरूप न्यूनतम ५ जना विद्यार्थीहरूलाई बैंकले प्रति बिद्यार्थी नगद रु तीस हजार प्रदान गर्नेछ । बैंकले व्यवस्थापन विभागमा एमविए ईन कर्पोरेट लिडरसिपमा अध्ययन गरेका १ जना छात्र र १ जना छात्रा गरी दुई जना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक शैक्षिक सत्रमा नगद र मेडल सहित “नेपाल बैंक कर्पोरेट लिडरसिप अर्वाड” समेत प्रदान गर्नेछ ।

मिति २०७९ श्रावण २४ गते नेपाल बैंकको प्रधान कार्यालयमा सम्पन्न सो सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन बिभागका निमित्त बिभागीय प्रमुख सहप्राध्यापक नवराज अधिकारी र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्काले हस्ताक्षर गरे । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले त्रि.वि व्यवस्थापन केन्द्रीय बिभाग संगको सहकार्यले नेपाल बैंकको अनुसन्धान सम्बन्धि कार्यमा ठूलो मद्दत पुग्ने बिश्वास व्यक्त गरे ।

त्रिभुवन विश्वबिद्यालय व्यवस्थापन केन्द्रीय बिभागका नि.विभागीय प्रमुख सह प्राध्यापक श्री नवराज अधिकारीले नेपालको पहिलो बैंकसंग आफ्ना बिद्यार्थी र प्राध्यापकहरुले अनुसन्धानात्मक कार्यमा सहकार्य गर्नु गर्वको विषय रहेको धारणा व्यक्त गरे । उनले सो अवसर प्रदान गरेकोमा बैंकलाई धन्यबाद समेत व्यक्त गरे ।

सो कार्यक्रममा त्रि.वि व्यवस्थापन बिभागका एमविए प्रोगाम डाइरेक्टर सहप्राध्यापक ज्ञानमणी अधिकारी, सह–प्राध्यापक डा.धुब्रलाल पाण्डेय, डा.बलराम दुवाल र डा.भरतसिंह थापाको समेत उपस्थिति रहेको थियो । बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत बिश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, कम्पनी सचिब केशब भण्डारी लगायतको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु