अडलट कारोबार नगर्न ब्रोकरलाई नेप्सेको निर्देशन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र दलाल व्यवसायी (ब्रोकर)लाई अडलट कारोबार नगर्न नगराउन निर्देशन दिएको छ ।

नेप्सेले ब्रोकरलाई टिएमएस प्रणालीबाट अनलाईन वा अफलाईन मार्फत समेत अडलटमा कारोबार नगर्न नगराउन निर्देशन दिएको छ ।

नेप्सेका अनुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को उपविनियम (३) बमोजिम उपविनियम (१) र (२) मा उल्लेख इकाई भन्दा कम परिमाणको धितोपत्र अडलट हुनेछ । त्यस्तो धितोपत्रको कारोबारलाई अडलट कारोबार भन्ने गरिन्छ तर कारोबार इकाई वा सो भन्दा बढी धितोपत्र भएका धितोपत्रधनीले त्यस्तो धितोपत्रलाई अडलट बनाई बिक्री गर्न पाइने छैन ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम (५) को उपविनियम (१) मा कारोबार हुने धितोपत्र सेयर वा सामुहिक लगानी प्रयोजनको इकाई भएमा अंकित मूल्य १० रुपैयाँ भएमा १०० कित्ता र अंकित मूल्य १०० भएमा १० कित्ता कारोबार इकाई हुने व्यवस्था रहेको साथै सोही विनियमको उपविनियम (२)मा भएको व्यवस्था बमोजिम धितोपत्र ऋणपत्र भएमा अंकित मूल्य १० भएमा १०० कित्ता र संस्थापक ऋणपत्रको मूल्य १ हजार भएमा १ कित्ता कारोबार इकाई हुने उल्लेख छ ।


क्लिकमान्डु