बालाजी सिमेन्टको व्यापार २९ प्रतिशतले घट्यो



काठमाडौं । स्थापना भएको दोस्रो वर्षमा १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्न सफल बालाजी सिमेन्टको व्यापार भने तेस्रो वर्षमा २९ प्रतिशतले ओरालो लागेको छ ।

सन् २०१६ को जुनमा स्थापना भइ सन् २०१९ को जुन महिनादेखि सञ्चालनमा आएको कम्पनीले पहिलो वर्ष जम्मा ६० लाख रुपैयाँको कारोबार गर्न सफल भए पनि दोस्रो वर्ष सन् २०२० मा भने १ अर्ब ६ करोड रुपैयाँको कारोबार गर्न सफल भएको थियो ।

तर सन् २०२१ मा आइपुग्दा बालाजी सिमेन्टको व्यापार २९ प्रतिशतले घटेर ७५ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । प्रतिदिन १८०० मेट्रिकटन क्लिंकर ग्रिडिङ उत्पादनको क्षमता भएको कम्पनीले हाल विभिन्न ब्राण्डमा ओपीसी, पीपीसी र पीएससी सिमेन्ट बिक्री गर्दै आएको छ ।

नेपालले गत आवमा ५ करोड २५ लाख रुपैयाँ बराबरको पोर्टल्याण्ड सिमेन्ट तथा ३२ अर्ब १५ करोड रुपैयाँ बराबरको सिमेन्ट क्लिंकर आयतको तथ्यांकले स्वदेशी बजारमा अझै पनि सिमेन्टको माग रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार चालु आवको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले दिने ऋणको ब्याजदर बढाउने नीतिले कम्पनीलाई आगामी दिनमा आर्थिक चाप पर्न सक्नेछ ।

कपिलवस्तुको चन्द्रौटामा उद्योग स्थापना गरेको कम्पनीले चन्द्रौटा, नटराज, श्रृष्टि र बाहुबली ब्राण्डमा सिमेन्ट बिक्री गर्दे आएको छ ।

कम्पनी शिवशक्ति ग्रुप अन्तर्गत सञ्चालित छ । पछिल्लो २३ वर्षदेखि व्यापार व्यवसायमा केन्द्रित शिवशक्ति ग्रुपले सिमेन्टका साथै टेक्सटायल, स्टील, बिल्डिङ कन्स्ट्रक्सन सामग्री, कृषि प्रडक्ट, प्लास्टिक, खानेतेल, साबुन उद्योग लगायतमा समेत लगानी गरेको छ ।

कम्पनीको अध्यक्ष तथा प्रबन्धक निर्देशकमा राहुलकुमार अग्रवाल छन् ।

कम्पनीले हालै केयर रेटिङमार्फत् २ अर्ब ४१ करोड ६० लाख ४४ हजार रुपैयाँ ऋणको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जामा बी माइनस र अल्पकालीन कर्जामा ए फोर रेटिङ प्राप्त गरेको छ ।


क्लिकमान्डु