सानिमा बैंकले आइएफसीबाट पायो २ करोड डलर ऋण, साना तथा मझौला व्यवसायमा लगानी गर्ने



काठमाडौं । सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बाट २ करोड डलर ऋण प्राप्त गरेको छ ।

सम्झौताअनुसार उक्त रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गरिनेछ । समावेशी तथा दिगो विकासको सिद्दान्तमा आधारित रही उक्त रकम ती क्षेत्रमा कर्जाका रुपमा प्रवाह गरिने बैंकको भनाइ छ ।

बैंकिङ प्रणालीमा तरलता अभावको समस्यालाई मध्यनजर गर्दै गत आर्थिक वर्षमै बैंकले आईएफसीसँग ऋण सम्झौता गरेको भए पनि चालु आवमा नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि ऋण प्राप्त भएको बैंकले जानकारी दिएको छ ।

‘सानिमा बैंकले यस्तो ऋण ल्याउने सीमित बैंकहरुको पंक्तिमा आफूलाई उभ्याउन सफल भएको छ,’ बैंकले जारी विज्ञप्तिमा भनेको छ ।

आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस फइले भनेका छन्, ‘सानिमा बैंकमा गरिएको यो लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्ग्यवसायलाई वित्तीय पहुँचमा थप सहजिकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको छ ।’

उनले लघु, साना तथा मझौला व्यवसायको लगानीले यस क्षेत्रको बिस्तार र रोजगारी सिर्जना गर्न सक्षम बनाउने विश्वाससमेत व्यक्त गरेका छन् ।

साथै, नगद प्रवाहले बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव समस्या घट्ने र घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई पनि कम गर्न योगदान दिने बैंकको भनाइ छ ।

सानिमा बैंकका सीइओ निश्चलराज पाण्डेले तरलताको असहज अपरिस्थितिमा पनि आइएफसीबाट प्राप्त रकमले एमएसएमई क्षेत्रमा कर्जा प्रवाह गर्न सहज भएको बताए ।


क्लिकमान्डु