कठिन अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्रलाई हतोत्साहित बनाउने कार्य गलत: अध्यक्ष गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कठिन अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्र र उद्योग व्यवसायलाई राहत दिई काम गर्न सक्ने वातावरण बनाउनुु पर्नेमा राज्यले हतोत्साहित बनाउने कार्य गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ (फिनी)ले उठाएका विषयहरु जायज रहेको बताएका हुन् । भाडा वृद्धिको निर्णय समय र विषयका हिसावले समेत गलत रहेको अध्यक्ष गोल्छाले बताए । जग्गा र भवन भाडामा लगाएर राजस्व उठाउने प्रवृत्ति नै सही नभएको तर्क उनको थियो ।

‘तपाईहरूका जायज माग पुरा गराउने सम्बन्धमा एफएनसीसीआईको पनि साथ रहन्छ’ उनले भने, ‘फिनीले राखेको वृहद औद्योगिक सम्मेलन आयोजना गर्ने सम्बन्धमा महासंघले आन्तरिक तयारी गरेर अगाडि बढ्ने छ ।’

महासंघ र नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघबीच एफएनसीसीआई सचिवालयमा मुलुकका औद्योगिक क्षेत्रभित्र संचालित उद्योगहरूमा उत्पन्न समस्याका बारेमा भएको छलफल उक्त कुरा उल्लेख गरे ।

छलफलमा औद्योगिक क्षेत्रभित्र उद्योगहरूले उपभोग गरीरहेका जमिनको अप्रत्यासित भाडा वृद्धि, विद्युत डिमाण्ड शुल्क, जीर्ण भौतिक पूर्वाधार, पानी आपूर्तिमा समस्या र वृहद औद्योगिक सम्मेलन लगायतका विषयमा छलफल भएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन संचालक समितिको असार २२ को निर्णयबाट ४ वर्ष अघिदेखि लागू गर्ने भनि ७०० प्रतिशतसम्म भाडा वृद्धि गरी बील औद्योगिक क्षेत्रभित्रका उद्योगहरूलाई पठाएपछि औद्योगिक क्षेत्रभित्रका उद्योगहरू समस्यामा परेको भेटवार्तामा बताइएको छ ।

लिमिटेड अन्तरगतका १० वटा औद्योगिक क्षेत्रमा सरोकारवालाहरूसंगको परामर्श बिना नै भाडा बृद्धि गरी पत्र पठाएको फिनीकातर्फबाट जानकारी गराइयो ।

पछिल्लो पटक राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थितिका कारण चल्नै नसक्ने अवस्थामा पुुगेका उद्योगहरूलाई आपसी सहमतीका माध्यमबाट भाडा वृद्धि गर्नुको साटो एकतर्फीरूपमा गरिएको भाडा वृद्धिले मुलुकको समग्र औद्योगिक विकासमै प्रतिकुल असर पर्ने चिन्ता व्यक्त गरे ।

भेटवार्तामा औद्योगिक क्षेत्रभित्र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउने भन्दा पनि भएका जग्गा भवन भाडामा लगाएर आयआर्जन गर्ने प्रवृत्ति देखिएकोमा चिन्ता व्यक्त गरिएको छ ।

औद्योगिक क्षेत्र भित्रका उद्योगहरूलाई ५० प्रतिशतभन्दा बढी विद्युत डिमाण्ड शुल्क लिइएको, पानीको सहज आपूर्तिको व्यवस्था नभएको, औद्योगिक क्षेत्र भित्रका भौतिक संरचनाहरू पुनरनिर्माण गरी प्रयोग गर्न योग्य बनाउनेतर्फ पहल नभएको लगायतमा गुनासा फिनीकातर्फबाट राखिएको थियो । फिनीले उठाएका इस्यूहरूमा साथ दिन एफएनसीसीआईलाई आग्रह गरिएको थियो ।

फिनीका अध्यक्ष रामहिरा पाठकले दुवै महासंघले मुलुकभित्र औद्योगिक वातावरण बनाउने विषयमा एउटै स्वर र अवधारणामा जानुुपर्ने र आफ्नो संस्थाले उठाएका इस्यूहरूमा एफएनसीसीआईको पूर्ण सहयोग पाउने आशा आफूहरूले गरेको बताए । भेटमा फिनीका अध्यक्ष पाठकले फिनीकातर्फबाट उठाइएका इस्यूहरू एफएनसीसीआईका अध्यक्ष गोल्छालाई हस्तान्तरण गरे ।


क्लिकमान्डु