गर्मीका कारण धमाधम मर्न थाले कुखुरा



तनहुँ । अत्यधिक गर्मीका कारण तनहुँको व्यास नगरपालिका–५ निवासी सुलभ पोल्ट्री फार्मका सञ्चालक हिमाल श्रेष्ठको एउटै फार्मबाट करिब एक हजार ५०० कुखुरा मरेका छन् ।

व्यावसायिक रुपमा हाइलाइन जातका लेयर्स कुखुरा ४ हजार ६ सय पालेकामध्ये एक हजार ५०० कुखुरा गत आइतबार मरेको कृषक श्रेष्ठले जानकारी दिए । गर्मीका कारण निमोनिया हुन जाँदा सो दुर्घटना भएको कृषकले बताए । उक्त कुखुराले अन्डा दिन थालेको करिब २/३ महिनापछि मर्दा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको कृषकले बताए ।

साउदीमा लामो समय स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेर स्वदेश फर्केका श्रेष्ठले विगत ६÷७ वर्षअघि देखि अन्डा दिने कुखुरा व्यावसायिक रुपमा पाल्दै आएका थिए । श्रेष्ठले उक्त कुखुरा फार्मको सगरमाथा इन्सुरेन्स कम्पनीमा बीमा गराएको र सोही बीमा कम्पनीका व्यक्ति आएर अवलोकन गरेका छन् के कति क्षतिपूर्ति दिने हुन् केही थाहा नभएको बताए ।

त्यसैगरी व्यास नपा–१ गल्बुवेसी निवासी तिलकुमारी नेपालीले पालेका ब्वायलर जातका ४ सय कुखुरा पटकपटक गरी मरेर सकिएको बताए । उक्त कुखरा मर्दा करिब २ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको कृषक नेपालीले जानकारी दिए ।

बीमा कम्पनीले ब्वायलर जातको कुखुरा व्यवसायमा बीमाको सुविधा नदिँदा कृषक मर्कामा पर्ने गरेको उनले बताए । रासस


पुष्प दुलाल