आर्थिक विकासमा सरकार निजी क्षेत्र एकै रथका दुुई पाङग्रा हुन्ः सभामुख सापकोटा



काठमाडौं । संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले मुलुकको आर्थिक विकासमा सरकार निजी क्षेत्र एकै रथका दुुई पाङग्रा भएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवसका अवसरमा यस्तो बताएका हुन् । कार्यक्रममा उनले आर्थिक विकास निजी क्षेत्रको सहभागिता र सहयोग बिना सम्भव नहुने भएकाले निजी क्षेत्रले उठाएका आवाजलाई सरकारले गम्भीरता पूर्वक लिनुुपर्नेमा जोड दिए ।

मुलुकको अर्थतन्त्र, रोजगारी, पुजी निर्माण, लगानी आकर्षणका महत्वपूर्ण आधार निजी क्षेत्रलाई सधै उच्च प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड थियो । यो राष्ट्रका लागि तपाईहरुको योगदान कति महत्वपूर्ण छ भन्ने कुरालाई आफूले राम्रो बुुझेको भन्दै उनले आफ्नो तर्फबाट निजी क्षेत्रका समस्या समाधानमा सधै सहयोग रहने विश्वास दिलाए ।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले व्यवसायी लगानी गर्न तयार रहेको र यसको प्रक्रिया सहज बनाउन आग्रह गरे । ‘हामी उत्पादन गर्छौं, अवरोध नगरिदिनुहोस् । हामी रोजगारी दिन्छौं, हडताल नगरिदिनुहोस् । हामी निर्यात गर्छौं, प्रोत्साहन गरिदिनुहोस्’ उनले भने ‘हामी पर्यटक ल्याउँछौं, स्वागत गरिदिनुहोस् । हामी राजस्व बुझाउँछौं, अपमान नगरिदिनुहोस् ।’

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले लगभग ५७ प्रतिशत काम गर्न सक्ने उमेर समूहका जनता रहेको नेपालसंग जनसाङखिक लाभको अधिक सुविधा रहेको बताए । ‘यूवा जनसंख्याको बाहुल्यता यसको सशक्त पक्ष हुन । तर अब हामीले अबका केही वर्षहरुभित्र यसको भरपुर उपयोग गर्न सकेनौ भने हाम्रा लागि अझबढी कठिनाईका दिन आउने छन’ उनले भने ‘सभामुखज्यूमा यो अवसरलाई सदुुपयोग गर्ने वातावरण बनाई दिन हामी निजी क्षेत्र आग्रह गर्दछौं ।’


क्लिकमान्डु