प्रदेश स्तरमा शाखा कार्यालय खोल्न भाडामा घर खोज्दै बीमा समिति



काठमाडौं । प्रदेश स्तरमा शाखा कार्यालय खोल्नका लागि बीमा समितिले घर बहालमा लिन खोजेको छ ।

समितिले सुदुरपश्चिम प्रदेश कार्यालय र मधेश प्रदेश कार्यालयमा शाखा कार्यालय विस्तार गर्नका लागि घर/भवन बहालमा लिन खोजेको हो ।

प्रदेश स्तरीय शाखा कार्यालय सञ्चालनका लागि समितिले घर/भवन बहालमा लिनका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

समितिद्धारा जारी सूचना अनुसार न्यूनतम २ हजार वर्गफिट भएको घर तथा भवनका मालिकले सूचना जारी गरेको १५ दिनभित्र सिलबन्दी पेश गर्नुपर्नेछ ।

सुदूरपश्चिम प्रदेश कार्यालयका लागि धनगढी उपमहानगरपालिकास्थित मूख्य सडक खण्डका चटकपुर शहीद गेटदेखि चौराहा हुँदै क्याम्पस रोड चोकसम्म मुख्य सडक वा सो भन्दा भित्र ५ सय मिटर भित्री सडक हुनु पर्ने समितिले जनाएको छ ।

मधेश प्रदेश कार्यालयका लागि वीरगञ्ज महानरपालिकास्थित श्रीपुरदेखि आर्दशनगरसम्मको मूख्य सडक वा सो भन्दा भित्र ५ सय मिटर भित्री सडकले छोएको हुनुपर्ने छ ।

१५ दिनभित्र समितिको केन्द्रिय कार्यालय कुपण्डोल ललितपुरमा प्राप्त हुने गरी शीलबन्दी प्रस्ताव पेश गर्न सकिने सूचनामा उल्लेख छ ।

समितिले कर्णाली प्रदेश सुर्खेतमा पनि शाखा कार्यालय विस्तार गर्ने भएको छ । समितिले सुर्खेत कार्यालयका लागि भने घर पाएको जानकारी दिएको छ ।


क्लिकमान्डु