मन्त्री आलेको स्पष्टिकरणः पैसाको बार्गेनिङ गर्दै मन्त्रीबाट हटाउन सक्छु भन्दै धम्की दिएका थिए



काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लिल शब्द प्रयोग गर्दै एक जनालाई गाली गरेको भिडियो सार्वजनिक भएपछि मंगलबार विहानैदेखि चर्चा शुरु भएको छ ।

जगत ओली नाम गरेका एक जनाले सोमबार राति आफ्नो फेसबुकमा २ मिनेट २५ सेकेन्डको भिडियो पोस्ट गरेका थिए । उक्त भिडियोमा उनलाई मन्त्री आलेले पटक–पटक अश्लिल शब्द प्रयोग गरी गाली गरेको देखिन्छ । साथै उनले आफू भारतको मुम्बई अन्धेरीमा रहेको र त्यहीँ आएर उठाउन समेत भनेको सुनिन्छ ।

यता विहानैदेखि चर्चा शुरु भएपछि मंगलबार नै मन्त्रीको सचिवालयबाट दोस्रो स्पष्टिकरण आएको छ । मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मीले जारी गरेको प्रेस विज्ञप्तिमा यसअघि पनि धम्की दिँदै भिडियो सार्वजनिक गर्ने बताएका थिए ।

‘कहिले तपाईं सेलिब्रेटी बन्नु भयो, सहयोग गर्नुहोस् तपाईंलाई भाइरल बनाउँछु भन्थे । कहिले तपाईंले भने अनुसार गर्नु भएन भने मन्त्रीबाट म हटाउन सक्छु भन्थे । प्रायः व्यवधान खडा गरिरहने स्वभाविका उनले मन्त्रीज्यूले दल त्याग गरेपछि सधैजसो झिँजो गरिरहेका थिए,’ विज्ञप्तिमा भनिएको छ ।

स्वकीय सचिव रेग्मीका अनुसार गत सातामात्रै यस्तो भिडियो सार्वजनिक गर्ने धम्कीको सूचना सचिवालयमा कर्णालीका एक जना माननीयमार्फत् आइसकेको थियो ।

‘हामी सचेत छौं, नक्सालको एक होटलबाट पनि हामीले सावधानीको खबर पाएका थियौं,’ उनले भने ।

विज्ञप्तिमा भनिएको छ, ‘बाल्यकाल भारतमै बिताएका, त्यतै लेखपढ गरेका र अधिकांश सुदुरपश्चिमका नागरिक त्यतै रहने भएकाले मन्त्रीज्यूले त्यहाँ रहेको प्रवासी समूदायसँग सम्पर्क टुटाउनु भएको थिएन र छैन । अहिले पनि थुप्रै प्रवासी नेपालीहरुसँग संवाद भइरहन्छ ।’

यसैक्रममा तोडमोड र काँटछाँट गरेर एउटा भिडियो क्लिप सार्वजनिक गरेको देखियो । यसबारे छानबिन गर्न प्रहरी प्रशासनलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘हामीले कानूनी परामर्श थालिसकेका छौं । र, आम जनसमूदायले ती नागरिकको टिकटक र फेसबुक पेज हेर्नु भएमा सबै छर्लंगै हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ ओलीले बार्गेनिंग गर्दै मन्त्री आलेलाई पठाएको म्यासेज


क्लिकमान्डु