१ वर्षमा १२१.६२ % ले बढ्यो बेरूजु, करिब ५ करोड दोहोरो भुक्तानी



काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा बेरूजु रकम १२१.६२ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा बेरूजु रकम १३ अर्ब ८६ करोड ५३ लाख रूपैयाँ वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ३९ करोड ९७ लाख रूपैयाँ रहेकोमा एक वर्षमा शतप्रतिशतभन्दा बढीले बेरूजु वृद्धि भएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा २५ अर्ब २६ करोड ५० लाख रूपैयाँ बेरूजु देखिएको महालेखा नियन्त्रक कार्यालयले बुधबार सार्वजनिक गरेको आन्तरिक लेखापरिक्षणको एकीकृत वार्षिक प्रतिवेदको सारांशले देखाएको छ ।

कुल बेरुजुमध्ये नियमित गर्नुपर्ने रकम ६ अर्ब ९५ करोड ७३ लाख, म्याद ननाघेको पेस्की रकम ५९ करोड १९ लाख रूपैयाँ र म्याद नाघेको पेस्की रकम १७ अर्ब ७१ करोड ५८ लाख रूपैयाँ रहेको छ ।

आव २०७७/७८ मा विनियोजन तर्फको वार्षिक बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रहेको थियो । जसमध्ये आव २०७७/७८ मा ११ खर्ब ९६ अर्ब ६० करोड ३० लाख निकासा तथा खर्च भएको प्रतिवेदनमा उल्लेख छ । बेरूजु रकम कुल निकासा रकमको २.११ प्रतिशत हुन आउने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

त्यस्तै गत आर्थिक वर्षमा कुल राजस्व अनुमान रकम ८ खर्ब ८९ अर्ब ६२ करोड भएकोमा ९ खर्ब ७६ अर्ब ३२ करोड ९ लाख संकलन भएको थियो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयद्वारा आन्तरिक लेखा परीक्षण भएको राजस्वतर्फको बेरूजु रकम २३ करोड ६१ लाख देखिन आएको प्रतिवेदनमा उल्लेख छ । यो बेरूजु रकम कुल राजस्वको ०.०२ प्रतिशत हो ।

पेस्कीतर्फ म्याद नाघेको र म्याद ननाघेको पेस्की रकम ३७ अर्ब १० करोड ६२ लाख देखिएको प्रतिवेदनमा उल्लेख छ । पेस्कीतर्फ म्याद नाघेको पेस्की रकम १७ अर्ब ७१ करोड ५७ लाख रूपैयाँ र म्याद ननाघेको पेस्की रकम १९ अर्ब ३९ करोड ५ लाख रूपैयाँ रहेको छ ।

तलबी प्रतिवेदन पारित गरेर मात्र खर्च लेख्नुपर्नेमा तलबी प्रतिवेदन बेगर खर्च लेखेको भनि कायम हुन आएको नियमित गुर्नपर्ने बेरूजु रकम ४ करोड ४९ लाख ८९ हजार रहेको छ ।

त्यसैगरी ४ करोड ९९ लाख ८ हजार रूपैयाँ बढी तथा दोहोरो भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ । प्रचलित मूल्यमान्यता विपरीत भुक्तानी भएको रकम ९७ लाख ९६ हजार रूपैयाँ रहेको छ ।


क्लिकमान्डु